काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाँदैछन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् ।
प्रचण्ड दिउँसो १ बजे नेपाल एयरलाइन्सको विमानमार्फत त्यसतर्फ जाने कार्यक्रम छ । त्यसअघि उनले १२ः२५ मा पत्रकार सम्मेलन गरेर आफ्नो भ्रमणबारे जानकारी गराउनेछन् ।प्रचण्ड नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर होटल पुग्ने छन् । भारत सरकारले प्रचण्डको बसोबासको व्यवस्था होटल मौर्यमा मिलाएको छ ।प्रचण्डले आजै साँझदेखि भेटघाट सुरु गर्नेछन् । परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार, साँझ ६ बजे भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग प्रचण्डले छुट्टा–छुट्टै भेटवार्ता गर्नेछन् ।
बिहीबार बिहान १० प्रचण्ड राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पहार अर्पण गरी हैदरावाद हाउसमा फर्कंनेछन् ।त्यहाँबाट फर्किएर प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । यो घेटवार्ता बिहान ११ बजेदेखि साढे ११ बजेसम्म हैदरावाद हाउसमा तय गरिएको छ ।लगत्तै प्रतिनिधिमण्डलस्तरको बैठक आयोजना हुनेछ । जसमा प्रचण्ड र मोदी सहभागी हुनेछन् । त्यसलगत्तै संयुक्त पत्रकार सम्मेलन गर्ने र भ्रमणबारे जानकारी दिने कार्यक्रम छ ।
उक्त कार्यक्रमपछि मोदीले प्रचण्ड र उनको टोलीमा सहभागीका लागि दिवाभोजको आयोजना गरेका छन् ।सोही दिन प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।त्ययसपछि प्रचण्ड नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनमा सहभागी हुनेछन् । उक्त सम्मेलनमा सम्बोधनसँगै अन्तरक्रियामा उनले भाग लिनेछन् ।
जेठ १९ गते प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको उज्जैन र इन्दोर भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रचण्डले भ्रमणको अन्तिम दिन इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्ट र विशेष आर्थिक क्षेत्रको भ्रमण गर्नेछन् । उक्त कार्यक्रम सम्पन्नपछि उनी सोही दिन दिउँसो १ बजे नयाँदिल्ली र ४ः२० मा नयाँदिल्लीबाट स्वदेश फर्कंनेछन् ।