भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घेराबन्दीको साङलो तोडेर जनतामाझ आएको बताएका छन् । भरतपुर–१ रामनगरमा नवनिर्मित राम मन्दिरको उद्घाटन तथा मूर्ति स्थापना कार्यक्रममा बोल्दै उनले बैशाख १० मा हुने उपनिर्वाचनमा चितवन–२ बाट फेरी सर्वाधिक मत सहित विजयी हुने दाबी गरेका छन् । मंसिर–४ को निर्वाचनमा चितवन–२ बा देशभरीकै सर्वाधिक मतान्तर सहित विजयी भएका लामिछाने नागरिकता विवादमा पर्दा सांसद पद गुमेपछि उपनिर्वाचन हुन लागेको हो ।
“म सँग प्रश्नहरु, गुनासा, दुखेसोहरु भएका सबैलाई भेट्ने छु”, उनले भने, “कसैलाई झुक्काएर पहिले मत लिएको पनि थिइन, यसपाली पनि झुक्याउने छैन ।” उनले सधै जनताको हितमा सेवा गर्न फेरी सांसद बन्ने बताए । “अनेकौ घेराबन्दीमा पारे, प्रक्रियागत कमजोरी देखाइयो”, उनले भने, “इमान्दारीता भुलेको छैन, फेरी चुनाव लड्ने परिस्थिति आएको छ, यसपाली दरिलो घण्टीको आवाज बज्नेछ ।”
उनले राजनीतिमा समर्थन वा विरोध गर्दा स्पष्ट कारण हुनुपर्ने तर्क गर्दै उनले आँफुले कुनै पाप नगर्ने दाबी गरे ।
“न हिजो मत खेर गयो, न भोलि मत खेर जानेछ”, उनले भने, “इमान्दारीता तपाईको पाउमा राखेर मत लिएर गएको थिएँ, फेरी आएको छु ।” उनले छलकपट विना राजनीतिमा लाग्दा केही अप्ठ्याराहरु आएपनि हरेश नखाएको बताए । पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु पुराना दलका सांसदहरुभन्दा होनाहार भएको जीकिर पनि गरे । उनले कुनै अपराध आँफुबाट भएको प्रमाणित भए सार्वजनिक जीवन छोड्न तयार भएको बताए । राम मन्दिरमा रामको मूर्ति राख्न उनले ९० हजार रुपैयाँ सहयोग गरेका थिए ।
राम मन्दिर महिला समूहका अध्यक्ष सरस्वती भट्टले ९ लाख रुपैयाँ लागतमा नयाँ मन्दिर बनाइएको बताइन् । उनका अनुसार रामसिता, लक्ष्मणको मूर्तिका लागि २ लाख ३० हजार रुपैयाँ, हनुमान र गणेशको मूर्तिको लागि ७० हजार रुपैयाँ खर्च भएको बताइन् । २०६८ सालमा बनाइएको सभाहलको माथिल्लो तला थप गरेर ३ कोठा थपिएको बताइन् । २०१८ सालमा बनेको मन्दिर भूकम्पले क्षतीग्रस्त बनेपछि नयाँ मन्दिर बनाइएको हो ।