काठमाडौँ। सरकारले मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन बनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटर ब्याज लगाउनेहरूलाई कारबाही गर्नेगरी कानुन संशोधन गर्ने निर्णय गरेको एक मन्त्रीले बताए। ती मन्त्रीका अनुसार मुलुकी अपराध संहितामा मिटरव्याज सम्बन्धी विषस समावेश गरेर कारबाही गर्ने सरकारको तयारी छ । यसका लागि सरकारले सो ऐन संशोधनका लागि संसदमा पेश गर्नुपर्ने हुन्छ ।
केही दिनदेखि काठमाडौंमै आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरूका समस्या बुझ्न उनीहरूसँग वार्ता गर्न सरकारले समिति पनि गठन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गासहितको वार्ता टोली गठन गरेका हुन्।