रवि लामिछाने विरुद्ध एकोहोरो लागिरहेका युवराज सफल फेरी सर्वोच्च अदालतको ढोका ढक्ढकाउन जाने भएका छन् । युवराज किन लगातार रविलाई प्रहार गर्दै आइरहेका छन् ? कतै उनी परिचालित छन् की ? प्रश्नहरु उब्जिरहेका छन् । उच्च सरकारी वकिलको कार्यालयले पूर्वगृहमन्त्री रवि लामिछानेलाई राहदानीका विषयमा मुद्दा नचल्ने निर्णय गरिसकेको छ । निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ ।
मुद्दा नचल्ने रायसहितको फाइल जिल्ला सरकारी वकिल कार्यालय काठममाडौंबाट उच्च सरकारी वकिल कार्यालय पाटन हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको हो । तर, युवराज सफलले राहदानी प्रकरणलाई उचाल्दै सर्वोच्च अदालत जाने तयारीमा छन् । मंगलबार बिहान विज्ञप्ति जारी गरी उनले राहदानी दुरुपयोग मुद्दामा महान्याधिवक्ताको कार्यालयले लामिछानेलाई उन्मुक्ति दिएको भन्दै सर्वोच्च अदालत जाने बताइरहेका छन् । युवराज सफलले लामिछानेलाई जोगाउन जिल्ला प्रहरी परिसर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ,उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीहरूले अख्तियार दुरुपयोग गरेको आरोपसमेत लगाएका छन् ।
युवराज सफलको प्रेस विज्ञप्ति यस्तो छ ।
मिति २०७९।१२।०६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन राहदानी दुरुपयोग सम्बन्धी मुद्धा झेलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अवैधानिक सभापति (अमेरिकी नागरिकता त्यागेको एंव नेपाली नागरिकता प्राप्त गरेको तीन महिना व्यतित नभएको) रवि लामिछानेले पासपोर्ट दुरुपयोग मुद्धामा सफाई पाएको घटनाप्रति सो मुद्धाका जाहेरी कर्ताको तर्फबाट म युवराज पौडेल सफल घोर आपत्ति एंव भत्सर्ना गर्दछु । अमेरिकी नागरिक कायम हँुदाकै बखत नेपाली राहदानी बनाएको र दुरुपयोग गरेको यथेष्ट प्रमाण हँुदाहुँदै सत्ता र शक्तिको आडमा निज लामिछानेलाई सो प्रकरणबाट उन्मुक्ति दिनु घोर कानुनको उलंघन हो भन्ने मेरो ठम्याई रहेको छ ।
यस प्रकरणमा जोडिएका जिल्ला प्रहरी परिसर ,जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ ,उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीहरुले अख्तियार दुरुपयोग गरी आरोपितलाई उन्मुक्ति दिएको भन्दै हदैसम्मको कारबाहीको माग गर्दै हिजोकै मितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दर्ता गरिसकिएको पनि यसै प्रेस विज्ञप्तीमार्फत जानकारी गराउन चाहन्छु। सत्ता जोगाउनकै लागि सरकारवादी मुद्धाबाट सफाई दिने भनी महान्यायधिवक्तको कार्यालयले निर्णय गरेकोले सो निर्णयको विरुद्ध यथाशिघ्र सम्मानित सर्वोच्च अदालतमा रिट दर्ता गरी कानुनी उपचार खोज्ने साथै आरोपितलाई सफाई दिने निर्णयमा संलग्न सबै निकायका जिम्मेवार व्यक्तिहरुलाई हदैसम्मको कारबाही समेत गराउन प्रतिबद्ध रहने पनि यसै प्रेस विज्ञप्तिमार्फत् अवगत गराउँदछु ।
युवराज सफल
रवि लामिछाने पासपोर्ट प्रकरणको जाहेरी कर्ता