भरतपुर । चितवन–२ मा हुने उपनिर्वाचनका लागि दलहरुले उम्मेदवार छनौट गर्ने कसरत बढाएका छन् । मंसिर–४ को निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद गुमेपछि पुनः निर्वाचन हुन लागेको हो । रास्वपाले रविलाईनै उम्मेदवार उठाउने पक्कापक्की छ । बैशाख १० मा उपनिर्वाचन हुदैछ । निर्वाचन आयोगले चितवन २ सहित राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएको निर्वाचन क्षेत्रमा पनि एकैदिनमा चुनाव गराउने सम्भावना छ ।
चितवन–२ मा रविसँग भिड्नका लागि कांग्रेस र एमालेभित्र नेताहरुले टिकट ल्याउने कसरत बढाएका छन् । मंसिर–४ को चुनावमा उम्मेदवार बनेका कांग्रेस नेता उमेश श्रेष्ठले पनि दाबी गरिरहेका छन् । तर, श्रेष्ठले उम्मेदवार हुने नहुने अहिलेसम्म बोलेका छैनन् । उनी सहित कांग्रेसबाट जिल्ला सभापति राजेश्वर खनाल र पूर्वसभापति जितनारायण श्रेष्ठ पनि आकांक्षी छन् । कांग्रेस सभापति देउवासँग टिकट लिन नेताहरुको दौडधुप चलिरहेको छ ।
यस्तै एमालेका तर्फबाट यसअघि उम्मेदवार रहेका कृष्णभक्त पोखरेल यसपालि इच्छुक देखिएका छैनन् । चितवन–२ मा एमालेले भरतपुर महानगरको मेयरका उम्मेदवार बनेका विजय सुवेदी टिकट दिन सक्ने देखिएको छ । चितवन–३ मा उम्मेदवारी दिएर व्याक भएका एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, प्रदेशसभा सदस्यका उम्मेदवार बनिसकेका देवी ज्ञवाली, पूर्वमेयर खुमनारायण श्रेष्ठको नाम पनि चर्चामा छ । रास्वपाले गठबन्धन नगर्ने अडान राख्दै आएकाले रास्वपालाई कांग्रेस, माओवादी, एमालेले सघाउने सम्भावना निकै कम छ । गठबन्धन नगर्ने बताउँदै आएका रविलाई अन्य दलले समर्थन गर्ने सम्भावना पनि कमजोर छ ।