चितवन आएका रवि लामिछानेलाई १२ भाईबारे हामीले जिज्ञासा राख्यौँ । उनले भने– १२ भाईबारे त्यति धेरै प्रतिक्रिया दिन मन छैन । भावना अभिव्यक्त गरेपछि त्यसैको पछि लागेर नहिड्ने, फूलबुट्टा हालेर कुरा गर्ने स्वभाव नभएको जीकिर गरे । कसैको विरोधि, दुस्मन नभएको बताए । नाफाघाटा सहुला, बुझौला, मुचुल्का उठाएर बस्दिन भन्नसम्म भ्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले माघ २२ गते उनले विभिन्न मिडियालाई इंगित गर्दै १२ भाइको प्रसंग निकालेका थिए । कतै आलोचना भए, कतै प्रशंसा बटुले । १२ भाई पत्रकार–मिडियाहरु लगातार आँफुलाई सिध्याउन लागिपरेको उनको बुझाई थियो, आक्रोश पोखे । १२ भाईबारे उनी बोलेको १ महिना वित्यो ।
टेलिभिजन कार्यक्रमहरुमा नेताहरुको खरो भण्डाफोर गर्ने उनै रविले आँफु नेता बनेपछि मिडिया, र पत्रकारहरुकै भण्डाफोर गरेका थिए । १२ भाई मिडियाले रविलाई पहिले खेदे । तर, अहिले १२ भाइले रविलाई देखेकै छैनन् । उनका गतिविधिहरु नदेखेकै गर्न थाले । चितवनको सौराहामा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ वटै प्रदेशस्तरीय समितिहरुलाई प्रशिक्षण दिइरहेको छ । ७ वटै प्रदेशबाट नेताहरुको जमघट सौराहामा छ । असार ७ गते पूर्व सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दा चर्चा थियो । विभिन्न पेशा, क्षेत्र तथा सामाजिक क्षेत्रमा राम्रो छवि बनाएका व्यक्तिहरू जोडेर उनले पार्टी बनाएका छन् । संसद्मा सार्वजनिक नीतिमा काम गरेका विज्ञहरू हुनुपर्छ भन्ने मतलाई अंगाल्दै आएका रविलाई एक्ल्याउन १२ भाई लागेको अनूभूति उनका समर्थकहरुले गर्छन् ।
सौराहामा देशभरबाट परिवर्तनकारी नेताहरु जम्माहुदा समेत न समाचार बन्छ, न कुनै भिडियो सामाग्री बन्छन् ? पुराना पार्टी विरुद्ध लड्न उभिएका घण्टीबाहक अगुवाहरु समाचार नबन्ने पात्र हुन् र ? मंसिर ४ को चुनावमा जनताले चौथो दल बनाइदिएका छन् । स्वतन्त्र पार्टीलाई लोकप्रिय र वैकल्पिक शक्ति मान्न नहुने कारण के छ ? रविको आक्रोशकै रिस साँधेर जिल्लातहमा रहेका संवाददाताहरुलाई रुलिङ गर्न १२ भाईहरु मौन बसे भनेर अड्कल गर्नु गलत हुन्छ र ? सौराहामा राष्ट्रिय स्वतन्त्र पार्टीका केही केन्द्रीय पदाधिकारीहरु सहभागि छन् । पार्टी सभापति आइपुगेका छन् । यही सौराहा हो, जहाँ कुनै दलको बन्द प्रशिक्षण चल्दा भित्रबाटै लाइभ गर्ने मिडियाहरु तपाई हामीले देखेकै हो । तर, यसपाली रविप्रति यतिविधि इख साँधेर स्वच्छ पत्रकारिता गरेको ठहरिन्छ र ? हो बन्द शत्रमा जान बन्देज छ, निम्ता पुगेको छैन होला ।
तर, आशलाग्दो पार्टीका गतिविधिहरुलाई जनतामाझ नलैजानुको भित्रि रहस्य के छ ? २८, २९ गते ७ वटै प्रदेश समितिका पदाधिकारी सहितको समितिलाई प्रशिक्षण चलिरहेको छ । ३० गते विचारनीति कार्यशाला हुदैछ । महामन्त्री तथा प्रवक्ता मुकुल ढकाल मिडियामैत्री छैनन् कि उनले मिडिया नबोलाएका हुन् ? पालिका, जिल्लातहमा रास्वपाले संगठन विस्तार अभियान चलाइरहेको छ । यही चैत १५ सम्म निर्वाचन क्षेत्र समिति सदस्यहरु बनाउने देशव्यापी अभियान चलाइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको विचारनीतिबारे जनता सूचित हुन पाउनुपर्दैन र ? रवि माघ १३ गते सांसद पद गुमाए, गृहमन्त्री पद पनि गुम्यो । बैशाख १० मा चितवन–२ मा उपनिर्वाचन समेत हुदैन ।
‘हार्ड एन्ड फास्ट’ निर्णय गरेर जनताको तालि पाएकै व्यक्ति हुन् रवि । पुस ११ मा नियुक्त भएर ३२ दिन गृह मन्त्रालय चलाउँदा कहिल्यै विवादमा मुछिएनन् । माघ ६ मा उनी बहालहुँदा गृह मन्त्रालयले एक आरोपित सांसदलाई पक्राउ गर्न विज्ञप्ति निकाले । अहिलेसम्म उनी पक्राउ नपर्दासमेत १२ भाई मिडियाले खबरदारी गरेको जनताले हेर्न, पढ्न पाएनन् । विधि र सुशासनका पक्षमा रवि छन्, १ महिनामै उनी शासकीय परीक्षामा असफल बने । तर, उनी हारेका छैनन् । उकुसमुकुस मन लिएर माघ २२ गते डेढ घण्टा आफ्ना भावनाहरु पोखेका थिए । ४१ दिनमै सरकारबाट बाहिरिदा उनी छटपटिनु स्वभाविक थियो । रवि, शिशिर खनाल, डोलप्रसाद अर्याल, डा. तोसिमा कार्कीले मन्त्रालय सम्हाल्दा के पाप गरे ? के गल्ती गरे ? उनीहरु समाचारका पात्रनै होइनन् भनेर कसरी भन्न मिल्छ ? प्रत्यक्ष र समानुपातिक गरी १९ सिट जितेको पार्टीलाई यतिविधि गौण राखेको जनताले रुचाएका छैनन् ।