काठमाडौँ। प्रदेश १ को नाम कोसी राखिएको विरोधमा विभिन्न जातीय संघसंस्थाले काठमाडौँमा प्रदर्शन गरेका छन् । प्रदेश १ को नाम कोसी खारेज गर्नुपर्ने र पहिचानका आधारमा पुनः नामकरण गर्नुपर्ने भन्दै लिम्बुवान किराँत संयुक्त संघर्ष समिति, किराँत राई यायोक्खा, नेपाल मगर, शेर्पालुङ राष्ट्रिय समन्वय समिति लगायतले आइतबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
जातीय पहिचान झल्किने गरी प्रदेश १ को नामकरण हुनुपर्ने उनीहरूको माग छ । प्रदर्शनमा सहभागीहरूले प्रदेश १ को नाम किराँत, लिम्बुवान शेर्पालुङ नामाकरण गर, पहिचानवादीहरू एक होऔँ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । मगर संघका सहअध्यक्ष गंगाबहादुर थापा मगरले प्रदेश १ को नामकरण पहिचानका आधारमा हुनुपर्ने बताए । उनले पहिचानका आधारमा प्रदेशको नामकरण नभएसम्म आन्दोलन जारी रहने बताए ।
जातीय पहिचान झल्किने गरी प्रदेश १ को नामकरण हुनुपर्ने माग गर्दै आएका जातीय समूहहरूले आइतबार कोसी प्रदेश बन्द गराएका छन् । प्रदेशसभाले यही फागुन १७ गते बहुमतले प्रदेशको नाम कोसी पारित गरेको थियो ।