काठमाडौँ –आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनको लागि ४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले दिएको समयसीमा शनिबार २ बजेसम्म ४ जनाको उम्मेवारी परेको हो । सत्ता गठबन्धनको तर्फबाट ३ जना र नेकपा एमालेबाट १ गरी ४ जनाको उम्मेदवारी परेको हो । उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिनेहरूमा ३ महिला र १ पुरुष छन् ।
१० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट २ जना र जनमत पार्टीबाट १ गरी ३ जनाको उम्मेदवारी परेको हो । जसपाबाट संसदीय दलका नेता रामसहायप्रसाद यादव र नेतृ प्रमिला यादवको उम्मेदवारी दर्ता भएको छ । प्रमिला यादवको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव छन् भने समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई र मनिस सुमन छन्। त्यस्तै रामसहायप्रसाद यादवको पस्श्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी छन् ।
त्यस्तै १० दलीय गठबन्धनबाट नै जनमत पार्टीकी नेतृ ममता झाले पनि उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा र रूपाकुमारी यादव रहेका छन् भने समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी छन् । यता नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट र रघुवीर महासेठ छन् भने समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिजाल छन् । आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । उपराष्ट्रपति पदको निर्वाचन ३ चैतमा हुनेछ ।