भरतपुर । नेता दुर्गा प्रसाईले कालोमोसो दस्तानै नभएको बताएका छन् । दोस्रो चरणका आन्दोलन सार्वजनिक गर्ने क्रममा उनले कालोमोसो दस्ता दर्ता नगरेको बताएका हुन् । “कालोमोसो .बारे थाहा थिएन, भेष्टकै नाम कालोमोसो हो जस्तो लागेको थियो”, उनले भने, “प्रचण्ड, केपीका फोटा राख्छन्, मेरैपनि छातिमा फोटा राखेका छन्, त्यस्तै सोँचे, कालोमोसो दस्ता बनाउन खोजेकै होइन, त्यतिबेला बनाएको रहेछ ।”
उनी चितवनको नारायणी नदी किनारमा आयोजित कार्यक्रममा आउने क्रममा भरतपुर विमानस्थलमा युवाहरुले कालोमोसो लेखिएका टिसर्ट लगाएर दस्ता सार्वजनिक गरेका थिए । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियान अन्र्तगतकै दस्ता भनेर प्रचार गरिएपनि प्रसाईले भने कालोमोसो दस्ता दर्ता नभएको जीकिर गरे । उनले सुझाव आएमा कालोमोसो नाम सच्याउन तयार रहेको बताए । महाअभियानलाई सघाउन भन्दै कालोमोसो दस्ता विभिन्न जिल्लामा गठन भएका थिए । तर, प्रसाईलेनै दस्ताबारे जानकार नरहेको बताएका छन् । कालोमोसो दस्ताका संयोजक शम्भु थापा प्रहरी हिरासतमा छन् ।