अबको राष्ट्रपति को होला ? दलहरु कस्ता रणनिति अपनाईरहेका छन् ? आउनुस् चर्चा गरौं । आगामी राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरुले मत माग्ने दौडधुप तिब्र पारेका छन् । उम्मेवारहरुले प्रत्येकलाई पत्र पठाउदैं भेट्दै मत मागिरहेका छन् ।राष्ट्रपतिमा सुवास नेम्वाङलाई भोट माग्न एमाले नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमै पुगेका छन्। उम्मेदवार नेम्वाङसहित नेताहरु विहिबार रास्वपा कार्यायल वसुन्धारा पुगेका थिए । भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे रास्वपा सभापति रवि लामिछानेसँग एमाले नेताहरुले छलफल गरेका छन् ।
रास्वपाबाट सभापति लामिछाने, उपसभापति डोरप्रसाद अर्याल, महामन्त्री डा.मुकुल ढकाललगायत नेताहरु यस्तै, एमालेबाट उम्मेदवार नेम्वाङसहित उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, रघुवीर महासेठलगायत नेताहरु सहभागी थिए ।रास्वपाले राष्ट्रपतिमा कसलाई मत दिने भन्ने निर्णय गरिसकेको छैन। यसअघि नेम्वाङ नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा गएर मत मागेका थिए। एकीकृत समाजवादीले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरिसकेको छ ।कांग्रेससहितको आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनेका छन् । पौडेललाई आठ दलको समर्थन छ भने नेम्वाङलाई एमाले र राप्रपाले मात्रै समर्थन गरेका छन्। एमाले निकट मानिएको रास्वपा भने ‘पर्ख र हेर’को नीतिमा छ ।
राष्ट्रपतिको निर्वाचनमा पार्टीले ह्वीप लगाउने कि नलगाउने भन्नेबारे निर्णय लिन बाँकी छ । संविधानमा गोप्य मतदानको व्यवस्था भएकाले हामीले भनेका दललाई साथीहरुले भोट हाले कि हालेनन् जानकारी हुँदैन। त्यही भएर हामी कानुनविद्हरुसँग छलफल गरिरहेका छौं’‚ महामन्त्री ढकालले भनेका छन् । सचेतक सन्तोष परियारले सांसदहरूलाई ह्वीप लगाउने तयारी नभएको जानकारी दिए ।
उनले एमाले र नेपाली कांग्रेसलगायतका दलहरूसँग छलफल भइरहेकाले बैठक बसेर आवश्यक निर्णय लिने बताए । ‘हामीले सांसदहरूलाई कुनै ह्वीप लगाएका छैनौं। परिस्थिति अध्ययन गरिरहेका छौं। दुवै पक्षसँग संवाद भइरहेकाले केही दिनभित्रै एउटा निष्कर्षमा पुग्छौं’‚ उनले भनेका छन् । यसअघि गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलले रविलाई प्रत्यक्ष भेटेरै मत मागेका थिए । उनीहरुविच सकारात्मक संवाद भएको बताईएको छ ।
रास्वपाले राष्ट्रपति निर्वाचनमा कानूनमा गोप्य मतदानको व्यवस्था भएकाले आफ्ना सांसदहरूलाई स्वतन्त्र छोड्ने नीति लिएको छ। रास्वपाले नयाँ गठबन्धनको नेतृत्वमा सरकार गठन हुने भएकाले राष्ट्रपतिको निर्वाचनलाई मात्रै केन्द्रमा नराख्ने नीति लिएको हो। महामन्त्री ढकालले राष्ट्रपतिको निर्वाचनमा आफूहरूले फरक नजिर स्थापित गर्न खोजेको बताए ।
‘राष्ट्रपति चुनावपछि पनि त्यस्ता धेरै क्षण आउँछन् जहाँ हामीले आफ्नो पोजिसन क्लियर गर्नुपर्छ ।राष्ट्रपति चुनावमा चाहिँ हामीले संविधानको भावना र मर्म अनुसार एउटा फरक नजिर बनाउन चाहिरहेका छौँ’‚ उनले भने । राष्ट्रिय सभा र प्रतिनिधिसभाका गरी ३३२ जना र प्रदेश सभाका ५५० जना सदस्य राष्ट्रपति पदका लागि मतदाता सूचीमा रहेका छन्। २० सिट जितेको रास्वपा प्रतिनिधिसभामा चौथो शक्तिको रूपमा रहेको छ । राष्ट्रपति निर्वाचनमा रास्वपासँग १५०१ मतभार रहेको छ ।
चितवन २ बाट निर्वाचित पार्टी सभापति लामिछाने नागरिकता मुद्दामा परेपछि एक सिट रिक्त छ। रास्वपासँग हाल १९ जना सांसद् छन् ।चितवन २ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।रास्वपाले सभापति लामिछानेलाई नै उम्मेदवार बनाउने भएको छ । सोही चुनावमा आफ्नो उपस्थितिमा कुनै अवरोध नहोस् भन्ने चाहेकाले पनि उनको पार्टी मौन रहेको चर्चा छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ३ गते सकिँदैछ ।