काठमाडाैँ- नेपाल क्रिकेट संघ (क्यान) ले वार्षिक साधारणसभा आइतबार र साेमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गर्दैछ। यसअघि पुस दोस्रो साता पोखरामा बसेको क्यानको कार्यसमिति बैठकले साधारण सभा सुर्खेतमा गर्ने निर्णय गरेको थियो।
दुई दिनसम्म चल्ने साधारण सभामा वार्षिक कार्यक्रमका साथै बजेट र आर्थिक प्रतिवेदन पारीत गर्ने कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए। उनले भने, ‘हाम्रो नियमित बैठक नै हो। आर्थिक प्रतिवेदन र वार्षिक कार्यक्रमलाई अनुमोदन गर्ने छौँ।’ साधारण सभाले नेपाल टी-२० को मुख्य साझेदारका रुपमा रहेको सेभेन थ्री स्पोर्टससँगको सम्झौता पनि अन्त गर्ने औपचारीक निर्णय गर्न सक्ने जनाइएको छ। गत पुसमा काठमाडौंमा भएको पहिलो संस्करणको नेपाल टी-२० लिग विवादीत बनेको थियो। लिगमा खेलाडीले तलब नपाउनेदेखि स्पट फिक्सिङसम्म भएपछि क्यानको चर्को आलोचना भयो।
लिग विवादित बनेपछि सेभेन थ्री स्पोर्ट्सले यसअघि नै एकपक्षीय रूपमा सम्झौता रद्द गरिएको जानकारी क्यानसहित राष्ट्रिय खेलकुद परिषद्लाई पठाएको थियो। तर क्यानले अझै सेभेन थ्रीबाट लाइसेन्स फिको रकमदेखि पुरस्कार रकम पाउन बाँकी नै रहेकोले यस विषयमा साधारण सभाबाटै निर्णय गर्ने तयारी गरेको छ। यसबाहेक साधारण सभा संघको २०२३ को वार्षिक कार्यक्रम, कार्ययोजना र बजेट अनुमोदनको विषयमा पनि छलफल गर्ने सचिव पाठकले जानकारी दिए।