जनकपुरधाम । धनुषाका दिलीप महतोको हत्यामा संलग्न विपिन महतो र मुनिन्द्र महतोलाई २५ वर्षको कैद सजाय सुनाइएको छ । अवैध उत्खननको विरोध गर्दा मनसायपूर्वक दिलीपको हत्या गरेको कसुरमा जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले विपिन र मुनिन्द्रलाई २५–२५ वर्ष कैद र ५–५ लाख क्षतिपूर्ति जरिवाना हुने फैसला सुनाइएको हो ।
त्यस्तै हत्याका मतियार दोषी ठहर भएका जितेन्द्र महतोको हकमा भने साढे १२ वर्ष कैद र २ लाख ५० हजार जरिवाना हुने जिल्ला अदालत धनुषाले फैसला गरेको हो ।जिल्ला अदालत धनुषाका इजलास नम्बर ६ का न्यायाधीश चित्रबहादुर गुरुङले फैसला सुनाएको इजलास अधिकृत विष्णु भट्टराईले जानकारी दिइन् । क्रसर उद्योग सञ्चालक विपिनकुमारले अवैध एवं अनियमित रूपमा बालुवा–गिट्टी उत्खनन गरेको भन्दै विरोध गर्न बिहान ४ बजे खोलामा पुगेका बखत दिलीपको हत्या भएको थियो ।
उनीहरुको सम्पत्तिबाट क्षतिपूर्ति असुल नभए सरकारको विपद कोषबाट दिलीपको परिवारजनलाई उपलब्ध गराउन अदालतले आदेश दिएको छ ।गत फागुन ३ गते जिल्ला अदालतले ७ अभियुक्त मध्ये विपीन, मुनिन्द्र र जितेन्द्रलाई दोषी ठहर र चारजनालाई सफाइ दिएको थियो ।क्रसर सञ्चालक विपीनका दाइ विनोद महतो, कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार यादवलाई अदालतले सफाइ दिइएको थियो ।