काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्ड आफूहरुलाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहेको बताएका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँगको वार्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले जसपालाई उपराष्ट्रपति दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सकारात्मक रहेको पनि बताए ।
जसपा र एकीकृत समाजवादीसँगको बैठक चलिरहेका बेला माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद बैठकमा सहभागी हुन गएका छन् । मन्त्रिपरिषद् बैठकपछि जसपा, एकीकृत समाजवादी र माओवादीबीच फेरि छलफल हुनेछ ।
बैठक सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्नेछ । छलफलमा एकीकृत समाजवादीले राष्ट्रपतिमा दाबी गरेको यादवले बताए ।अहिलेको सत्ता गठबन्धन टुट्न लागेको हो भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष यादवले अहिले नै टुंगो नभएको बताए ।