जनकपुर। मिथिलाको चर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा विधिवत रूपमा सुरु भएको छ ।गत बिहीबार सुरु भएको परिक्रमा अहिले पनि जारी छ । धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिणी ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत् सुरुवात हुने परम्परा छ ।
नेपाल र भारतका गरी १३३ किलोमिटर लामो यस पैदल यात्रामा हजारौँ श्रद्धालु सहभागी हुन्छन् । परिक्रमामा सहभागी श्रद्धालुहरू सोमबार जनकपुरधाममा विश्राम गरेर (मंगलबार) आज बिहानै भारतको कल्याणेश्वरका लागि प्रस्थान गरेका छन् । परिक्रमाको डोलालाई मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले काँध लगाएर विधिवत सुरुवात् गरे । मुख्यमन्त्री यादवले मिथिला मध्यमा परिक्रमाको डोलाको दर्शन गर्न पाउँदा आफूलाई आत्मीय आनन्दको अनुभूति भएको बताए ।उनले आउने दिनमा मधेस सरकार मिथिला बिहारी क्षेत्रलाई मिथिला बिहारी विकास परिषद् बनाएर विकास गर्नुका साथै परिक्रमा मार्गलाई सहज र सुविधायुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
परिक्रमाको इतिहास उल्लेख नभए पनि मध्यमा परिक्रमालाई व्यवस्थित गर्नुमा धनुषाको कचुरी मठको प्रयासलाई सह्रानीय मान्न सकिन्छ । सोही मन्दिरले अहिले पनि मिथिला मध्यमा परिक्रमाको नेतृत्व गर्ने गरेको छ ।परिक्रमालाई व्यवस्थित पार्न कचुरी मठका तत्कालीन महन्थ लालशरणले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । नेपाल र भारतबीचको धार्मिक सांस्कृतिक महत्वलाई मिथिला मध्यमा परिक्रमाले वर्षौंदेखि प्रगाढ बनाउँदै आइरहेको छ । यसलाई व्यवस्थित गर्न सकिए दुवै देशको पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास स्थानीयको छ ।
यसलाई व्यवस्थित पार्नेतर्फ सरकारको ध्यान जान नसकेको उनीहरूको गुनासो छ । हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १०७ र भारतको २६ किलोमिटरको दुरी पैदल यात्रा गर्छन् ।पवित्र धार्मिक स्थलहरूको परिक्रमा गर्दा पाप नाश हुनुका साथै पुण्य मिल्ने जनविश्वास छ । परिक्रमा अवधिभर सहभागीहरूले झाँकी, भजन, कीर्तन पनि गर्छन् । नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् ।