काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थलको अध्यागमनको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री किरातीले विमानस्थलका समस्याहरु अध्यागमनले समाधान गर्नुपर्नेमा त्यसो हुन नसकेको रिपोर्ट आउने भन्दै असन्तुष्टि जनाए ।
अहिले मोबाइल ल्याउने व्यवस्था, ५० ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्थामा सरकारको नीतिविपरीत अध्यागमनले नियन्त्रणमा लिने काम गरेको उनको भनाइ छ । उनले विमानस्थलको सर्भर डाउन हुँदा हजारौँ यात्रु समस्यामा परेको भन्दै अध्यागमनले समयमा नै समाधान गर्न नसकेको बताए ।
त्यस्तै, मन्त्री किरातीले काठमाडौं उपत्यकाका सात सम्पदा जोड्ने गरी छिट्टै बस सेवा सञ्चालन गरिने र केही प्रक्रियागत कारणले ढिलाइ भइरहेको धारणा राखे । मन्त्री किरातीले हरेक सम्पदाको सर्किट बनाएर नेपालीपनको पर्यटन विकास गरिनुपर्नेमा जोड दिए ।उनले पर्यटनसँग उत्पादन जोड्नुपर्ने भन्दै मन्त्रालयले छिट्टै सबै क्षेत्रसँग छलफल गरी पर्यटन प्रवद्र्धनको रणनीति तयार गरिने उल्लेख गरे ।