गुण एयरलाइन्सका सबै उडान बन्द गर्न नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ ।पाइटल र क्रु मेम्बरलाई तलब नदिएको पाईएपछि प्राधिकरणले सबै उडान बन्द गर्न निर्देशन दिएको हो । हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै अर्को व्यवस्था नभएसम्म हालका लागि सबै जहाज ग्राउन्डेड गर्न पत्र पठाईएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।
गुणका उडान गत बुधबारदेखि नै बन्द छन्। यसअघि गुणले जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट ल्याइँदै र पाइट तालिममा रहेकाले उडान बन्द रहेको बताएको थियो। यद्यपी हिजो (आइतबार) देखि नियमित उडान गर्ने कम्पनीको भनाइ थियो ।
तर उडान बन्द भएपछि अनुसन्धान गर्दा तलब नदिएको पाइएको प्राधिकरणले जनाएको छ । गुण एयरका हाल तीन वटा जहाज सञ्चालनमा छन्। यी जहाजले तुम्लिङटार, पोखरा, विराटनगर, भैरहवा, भरतपुर, सिमरा लगायतका गन्तव्यमा उडान गर्दै आइरहेका छन् ।