काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा सयौं यात्रुलाई समस्या भएको छ ।सर्भर डाउन भएपछि केही उडानसमेत बन्द भएका छन् । सोमबार दिउँसो करिब १ बजेदेखि विमानस्थलको अध्यागमन विभागमा सफ्टवेयरमा समस्या आउँदा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन पुगेको टीआईएका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
‘केही समयदेखि अध्यागमनको सफ्टवेयरमा समस्या देखिएको छ । समस्या समाधानका लागि अहिले प्राविधिक टोलिहरु खटिरहेका छन् । तथापि, अबको केही छिन्मा नै समस्या समाधान हुनेमा आशावादी छौं’ सिटौलाले भने । तर, यस समस्याले अध्यागमनको डिपाचर, इम्रिग्रेसनको काम रोकिँदा उडानहरू समेत प्रभावित हुन पुगेको उनले जानकारी दिए । टीआई, अध्यागमनमा सञ्चालित सफ्टवेयर पनि सिंहदरबारकै भएकाले उता समस्या आउँदा यता पनि सोहीँ समस्या देखिएको प्रवक्ता सिटौलाको भनाइ छ ।
सर्भर बिग्रिएको कारण फ्लाई दुबई, एयर इन्डिया, इण्डिको एयर, थाई स्माइल, मलेसियन एयरलगायतका ९ वटा जति उडान प्रभावित भएको बताइएको छ । अहिले ३÷४ सय यात्रु आक्रोशित भएर बसेका छन् । उडान प्रभावित भएका कारण तेस्रो मुलुकको यात्रा गरिरहेका यात्रुहरूको कनेक्टिङ फ्लाइट छुट्ने सम्भावना बढेको छ ।