काठमाडौँ । उच्च अदालत पाटनको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछाने सर्वोच्च अदालत गएका छन् । उच्च अदालतले विदेश यात्रामा लगाएको प्रतिबन्ध तथा धरौटी रकमको विषय पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दर्ता गरिएको अधिवक्ता सरोज कृष्ण घिमिरेले रातोपाटीलाई बताए ।काठमाडौं जिल्ला अदालतले सन्दीपलाई जेलमै राखेर पुर्पक्ष गर्ने आदेश दिएको थियो । त्यसका विरुद्ध सन्दीपले पाटन उच्च अदालतमा पुनरावेदन गरेका थिए । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छोडिदियो । तर, उनलाई विदेश जान अदालतले रोक लगाएको छ । यसविरुद्ध सन्दीपले एक साताअघि सर्वोच्चमा पुनरावेदन गरेका हुन् ।
नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका सन्दीपलाई गत पुस २७ गते उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । नाबालिग बलात्कारको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट थुनामै बस्नुपर्ने गरी भएको थुनछेक आदेशविरुद्ध लामिछाने उच्च अदालत पाटनमा रिट निवेदन लिएर पुगेका थिए । अदालतले दिएको आदेशमा सन्दीपलाई नेपाल छाड्न प्रतिबन्ध लगाइएको छ भने जाहेरवालीको परिवारलाई भेट्न, धम्की दिन वा प्रभावमा पार्न निषेध गरिएको छ ।
त्यसै गरी मुद्दाको सम्बन्धमा सामाजिक सञ्जाल लगायतमा लेख्न प्रतिबन्ध लगाइएको छ । त्यसै गरी आदेशमा उपत्यका छाड्नुपरेमा काठमाडौँ प्रहरीलाई जानकारी गराई स्वीकृति लिनुपर्ने शर्त दिइएको छ भने सन्दीपको मोबाइल डिभाइसबाट फोन कल, म्यासेज वा लोकेशनको निरन्तर निगरानी गर्न भनिएको छ । सर्तको पालना नगरेमा जिल्ला अदालतमार्फत पुनः पक्राउ गरी थुनामा राख् नसक्ने अदालतको आदेशमा उल्लेख छ ।
नेपाली क्रिकेट टीम यूएई र पपुवान्यूगिनीविरुद्धको म्याच खेल्न आगामी १३ गते दुबई जाँदैछ । अदालतले विदेश जान रोक लगाएकाले सन्दीप सो टीममा रहने छैनन् । तर, यदि १२ गते सर्वोच्चको पेसीले उक्त रोक फुकुवा गरिदियो भने सन्दीपलाई यूएई जान बाटो खुल्नेछ ।उनी नेपाली राष्ट्रिय टीमका महत्वपूर्ण सदस्य हुन् । हाल घरेलु मैदानमा जारी त्रिकोणात्मक श्रृंखलामा उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । क्रिकेट समर्थकहरूले सन्दीपलाई विदेशमा खेल्ने वातावरण बनाउन अदालत र क्यानसँग माग गर्दै आएका छन् ।