काठमाडौं । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । थाइल्याण्डबाट नेपाल आइपुगेका उनी आज बिहान पक्राउ परेका हुन् । ब्युरोका एसएसपी नवीन्द्र अर्यालका अनुसार विद्युतीय स्वरुपमा आफ्नो चरित्र हत्या गरेको भन्दै महेशचन्द्र आचार्यले रेग्मीविरुद्ध उजुरी दिएका थिए ।
म्याद थप गरेर रेग्मीलाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने जनाइएको छ । रेग्मीले अन्य व्यक्तिको पनि चरित्रहत्या गरेको आरोप उजुरीमा छ । रेग्मीकोे फेसबुकको कभर तस्वीरमा अहिलेका चर्चित कलाकारको हस्ताक्षरसहितको तस्वीर राखिएको छ । जसमा राजेशपायल राईदेखि रचना रिमालसम्मका नाम छन् ।
यी गायक–गायिकासँग उनको विवाद देखिएको थियो । ‘प्रणय’ एल्बममा राखिएको गीत ‘पोखरा’लाई लिएर गायक प्रमोद खरेल र रेग्मीबीचको विवाद चुलिएको थियो । रेग्मीले खरेलमाथि प्रतिलिपि अधिकारको कार्यालयमा करोड क्षतिपूर्ति माग गर्दै उजुरी दिएका थिए भने प्रमोदले पनि कानुनी प्रक्रियामार्फत उपचार खोज्ने जवाफ त्यतिबेला दिएका थिए ।