काठमाडौं । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–धुलिखेल सडक चार लेनमा विस्तार हुने भएको छ । सडक ३ वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको हो । सडक निर्माण भएको २५ वर्षपछि काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको पहिलो चरण र भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगासम्मको सडकखण्ड दोस्रो चरणमा सक्नेगरी छुट्टाछुट्टै दुई चरणमा सम्झौता भइसकेको छ ।
कुल १५.५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किलोमिटर सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ सक्नेगरी पाएको छ । उक्त खण्डको २०७९ मंसिर २७ गते ३ वर्षभित्र सक्ने ठेक्का सम्झौता भएको हो । दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड ७.५ किलोमिटर रहेको छ । उक्त खण्डको ठेक्का आशिष÷कुमार श्रेष्ठ÷बन्धन भगवती जेभीसँग ३ अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भइसकेको विभागले जनाएको छ ।
सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयले सडकको बीचबाट दायाँबायाँ २५÷२५ मिटरको मापदण्डनुसार राजमार्गअन्तर्गत पर्ने चार नगरलाई पत्राचार गरी लगत सङ्कलन कार्यमा सहयोग गर्न अपिलसमेत गरेको छ ।संघीय राजधानीबाट वागमती प्रदेशअन्तर्गत मध्यपहाडी राजमार्गका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दुरीसँग अरनीको राजमार्ग जोडिएको छ ।