पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताएका छन् । सबै राजनीतिक दलहरुले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने उनले बताए । राष्टिय अस्मितामाथि खतरा हुनसक्ने, अराजकता र अस्थिरता निम्तिने र त्यसले गर्दा संविधान र राष्ट्रियतामाथि जोखिम पर्ने भएकोले राष्ट्रिय सहमतिलाई जोड दिएको गुरुङले बताए ।
आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘अहिले शक्तिकेन्द्र खेलिरहेको अवस्था छ । राष्ट्रियताको रक्षका लागि राष्ट्रपति साझा बनाउन पर्छ । त्यसो गर्न सकेनौं भने मुलुकको अस्मितामाथि गम्भीर संकट सिर्जना हुन्छ ।’ जुनसुकै दलले प्रस्ताव गरे पनि गणतन्त्र, संविधानको संरक्षक, परिवर्तनलाई आत्मसाथ गर्नसक्ने र सबैले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने आफूहरुको अडान रहेको उनले बताए ।
उनले माओवादीले कुनै पात्र नभई अहिले वैचारिक र नीतिगत कुरा उठाएको भन्दै स्थिरता र राष्ट्रियताका लागि राष्ट्रिय सहमति र सहकार्य आवश्यकता औंल्याएको बताए । उनले राष्ट्रपति राष्ट्रिय सहमतिकै आधारमा चयन हुने दाबीसमेत गरे । सत्ता पक्ष र विपक्षको रुपमा परिकल्पना गरिएको प्रधानमन्त्री पदमा समेत सहमति भएको बताउँदै उनले प्रश्न गरे, ‘सत्तापक्ष र विपक्ष परिकल्पना नगरिएको ठाउँमा सहमति हुननसक्ने कारण के क्वेसन यो हो ।’ अर्काे प्रशंगमा उनले राष्ट्रपति समग्र राज्यसँग जोडिएको विषय भएको बताउँदै राजनीतिबाट अलग पात्रको परिकल्पना नगरिने बताए ।