काठमाडौं । ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी र आमा हरिकला भण्डारीको अवस्था जटिल देखिएको अस्पतालले जनाएको छ । गएराति सिलिण्डर विस्फोटमा परी घाइते भएका भण्डारी र आमाको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
शरीरको २५ प्रतिशत भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् ।गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
अस्पतालकी मेडिकल डाइरेक्टर निजिना ताम्राकारका अनुसार आमाको तुलनामा सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले उनको अवस्था पनि गम्भीर छ ।
आफूहरुले एयर–वे म्यानेज लगायतका काम गरेर उपचार गरिरहेको बताउँदै उनले भारतमा लगेर उपचार गर्न सिफारिस पनि गरेको जानकारी दिइन् । अस्पतालका मेडिकल डाइरेक्टर ताम्राकार र जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले संयुक्त विज्ञप्ति जारी गर्दै हालको स्रोत साधनले नेपालमा उपचार सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न अस्पतालमा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिएको जानकारी दिएका छन् ।