भरतपुर । नेकपा माओवादी केन्द्रका उपादध्यक्ष एवं निर्वतमान सभामुख अग्नि सापकोटाले प्राप्त राजनितिक उपलब्धीहरुको रक्षा गर्नुपर्ने बताएका छन् ।चितवनमा भएको जनयुद्ध दिवस र उपलब्धीहरुको समिक्षा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता सापकोटाले यस्तो बताएका हुन् । जनयुद्धको जगमा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा संस्थागत विकास गर्नुपर्नेमा उनको जोड थियो ।
उनले भने, ‘मुल्य मान्यता आदर्श केहि धुमिल भएका छन्, त्यसकारण ईतिहासको महान गौरवगाथालाई स्मरण गर्नु सान्दर्भिक छ ।’ उनले जनयुद्धले देशलाई समावेशी समानुपातिक लोकतन्त्रसम्म ल्याउन निर्णायक भूमिका खेलेको बताए । नेता सापकोटाले त्यही ऐतिहासिक दिनलाई वैधानिक तवरबाट स्थापित गर्न सरकारले आज सार्वजनिक विदा दिएको बताएका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं बागमति प्रदेश सरकारका पुर्व मन्त्री घनश्याम दाहाल अविनासले गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्ने बताए । उनले गणतन्त्र र संविधानमाथि फेरि पनि प्रहार हुन थालेकाले परिवर्तनका पक्षधरहरु एक हुनुपर्ने धारणा राखे ।
माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्त्वको रहेको बताए ।कार्यक्रममा बुद्धिजीवी टेक बहादुर थापा, विनोद खण्ड तिमिल्सेना आईपी ढकाल, प्रेम सागर भण्डारी, डा. भोजराज अधिकारी, डा. बुद्धि सागर शर्मापुर्ण प्रसाद दवाडी, राजु पौडेल, दोण बाबु सिवाकोटी लगायतले आफ्ना धारणा राखेका थिए ।