धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदै छन् ।पुस २७ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका रावलले आज विश्वासको मत लिन लागेका हुन् । माघ २७ अघि नै विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था अनुरूप रावलले विश्वासको मत लिन लागेका हुन् ।५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
रावललाई समर्थन गरेको सत्तारुढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिनेबारे प्रष्ट निर्णय लिन नसक्दा मुख्यमन्त्रीले ढिलोगरी विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्रीको विश्वासको मत लिन केही घण्टा मात्र बाँकी रहेको अवस्थामा समेत नाउपाले प्रष्ट निर्णय अझै लिएको छैन भने प्रदेश सभाका ७ जना सांसद काठमाडौंबाट फर्किएका छैनन् ।पार्टीका संस्थापक रेशम चौधरीलगायतका जेलबन्दीको रिहाइको माग गर्दै आएको नाउपाले माग सम्बोधन नभएका कारण विश्वासको मत दिन नसकिने बताउदै आएको छ तर आधिकारीक निर्णय भने गरिएको छैन् ।
सुदूरपश्चिममा सत्ता गठबन्धन भित्र माओवादीका ११ (सभामुख सहित), एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् । यी सबैको मत मुख्यमन्त्री रावलले प्राप्त गरे बहुमत पुष्टि हुने छ । तर, नागरिक उन्मुक्तिका ७ सांसद बैठकमै उपस्थित हुने विषय नै अनिर्णीत हुँदा मुख्यमन्त्री सङ्कटमा पर्ने सङ्केत देखिएको छ ।
यता नेकपा एमालेका सांसदहरू भने सरकारले विश्वासको मत पाउनेमा विश्वस्त छन् । संघीय सरकार नागरिक उन्मुक्तिको माग सम्बोधन गर्न सकारात्मक रहेको र प्रक्रिया अघि बढिसकेको हुँदा विश्वासको मत प्रदेश सरकारले पाउने एमालेको दाबी छ ।