काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको विवादबारे समाधान हुने बताएका छन् । शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै समस्याको समाधान हुने बताएका हुन् ।रास्वपाले दिएको अल्टिमेटम सकिँदैछ भन्ने प्रश्नमा उनले भने, ‘अहिले मेरो कुरा हुँदैछ । समस्याको समाधान हुन्छ ।’
बिहीबारको बैठक सुरु हुनुअघि र सुरु भइसकेपछि सो पार्टीका सभापति रवि लामिछानेसँग प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग कुरा गरेका थिए ।
नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले रवि लामिछानेलाई नागरिकता मुद्दामा दोषी ठहर गरेपछि उनले सांसद, मन्त्री र पार्टी सभापतिको पद गुमाएका थिए । त्यसपछि आफूलाई पुनः गृहमन्त्री बनाउन उनले पहल गर्दै आएका छन् । तर प्रधानमन्त्री प्रचण्ड तयार छैनन् ।