रुपन्देही । नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशमा गठबन्धन तोडेको छ । माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी दिएपछि पार्टीले सत्ता गठबन्धन छोडेको हो । नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि हुन लागेको उपनिर्वाचनमा लुम्बिनीमा ३ दलका उम्मेदवारले प्रतिष्पर्धा गर्दैछन् । नेकपा एमाले, नागरिक उन्मुक्ति, नेपाली कांग्रेसलेको छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् ।
एमालेबाट रोल्पाका कुमार दसौदी, रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिबाट बाँकेका राजेन्द्रवीर राय र कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यको उम्मेदवारी परेको छ । नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठले आफ्नो दल सत्ता गठबन्धनबाट बाहिर रहेको बताएकी छन् ।
माघ ११ गते उम्मेदवारी दर्ता गराएपछि उसले गठबन्धन तोडेको हो । राष्ट्रियसभा निर्वाचनको लागि लुम्बिनीमा स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेशसभा सदस्य गरी ३०५ जना मतदाता रहेका छन् । जसमा २१८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख र ८७ प्रदेशसभा सदस्यहरू रहनेछन् ।