डा. हेमराज कोइराला
चितवन, ९ माघ । हाम्रो नियमित खाजा जस्तै भएको छ- चाउचाउ र बिस्कुट । भोक टारिहाल्नुपर्यो ? चाउचाउ उमालेर खाइदिन्छौं । बिहान चियासँग के खाने ? बिस्कुट खोज्न थाल्छौं । बालबच्चालाई खुसी बनाउनुपर्यो के गर्ने ? चीजबल, कुरकुरे किनिदिन्छौं । कतै यात्रा गर्नुपरेमा बाटोमा के खाने ? चिप्स, दालमोठ बोक्छौं ।
खाँदा मीठो लाग्छ । न पकाउन झन्झट, न समयको खर्च । तर यसले हाम्रो जिब्रोलाई मात्र मक्ख बनाउने हो । पेटलाई त दिनसम्म दुःख दिन्छ । वास्तवमा जंकफुड खाएपछि शरीरमा के हुन्छ ? किन यसलाई ‘अस्वस्थ्यकर’ खानेकुराको श्रेणीमा राखिएको हो ? यसका लागि जंकफुडमा के हुन्छ भन्ने कुरा बुझौं ।
के हुन्छ जंकफुडमा ?
जंकफुड खासमा छिटो–छरितो बजारे खाजा हो, जसलाई स्वादिलो बनाउन, लामो समयसम्म टिकाउन विभिन्न रसायनको प्रयोग गरिन्छ । जंकफुड स्वादका लागि बनाइएको हो, स्वास्थ्यका लागि होइन । त्यसैले अधिकांश जंकफुडमा पौष्टिक तत्व एकदमै न्यून हुन्छ र क्यालोरीको मात्रा उच्च हुन्छ । धेरै मात्रामा नुन, चिनी, चिल्लो हालेर बनाइएको हुन्छ ।
जंकफुड खाएपछि के हुन्छ ?
तौल बढ्छ
विश्व स्वास्थ्य संगठनले मोटोपनको मुख्य कारण मानेको छ, जंकफुडलाई । पटक–पटक प्रशोधन गरी प्राकृतिक गुणधर्म नष्ट गरिएको, रेशा र चोकर झिकिएको र अखाद्य वस्तुको समेत मिलावट गरिएको हुँदा यी खानेकुराको सेवनले तौल बढ्ने, भूँडी लाग्ने र मोटाउने समस्या निम्त्याउँछ ।
धेरै मात्रामा नुन, चिनी र चिल्लो हालिएको हुँदा उच्च क्यालोरीका कारण जंकफुड खाँदा तौल ह्वात्तै बढ्छ । यसको अलावा जंकफुडको सेवनले मेटमबोलिक क्रियालाई समेत सुस्त बनाइदिने हुँदा तौल बढ्छ । जंकफुड मिसाइएका केमिकलहरूले भोक लगाउने र सन्तुष्टि प्रदान गर्ने हर्मोनका तालमेल बिगारिदिने हुँदा धेरै भोक लाग्ने र तलतल लागिरहन्छ । फलतः तौल बढ्ने र मोटाउने भइरहन्छ ।
मुटुरोगको जोखिम
जंकफुडमा उच्च मात्रामा भएको कार्बोहाइड्रेट अथवा चिनी छिटो–छिटो पचेर पाचनपछि ग्लुकोज बन्छ र रक्त ग्लुकोज बढाउँछ । यसैगरी उच्चमात्रामा भएको चिल्लोले रक्त कोलेस्टेरोलको मात्रा बढाउँछ भने उच्च मात्रामा नुन वा सोडियमले प्रयोग गर्नाले रक्तचाप बढ्छ ।
खानेकुरामा खाद्यरेसा, भिटामिन र एन्टिअक्सिडेन्ट नहुँदा रक्तनली सुन्निने र साँघुरिने गर्छ । यो क्रिया मुटुका रक्तनलीमा भए हामी त्यसलाई मुटुरोग भनेर भन्छौं ।
मधुमेह
जंकफुडलाई प्रशोधन गर्दा त्यसलाई सजिलै पच्न सक्ने बनाइएको हुन्छ र यी खानेकुरा खाएपछि तत्काल पच्ने र रक्त ग्लुकोज ह्वात्तै बढाउने गर्छ । रक्त ग्लुकोज बढ्ने बित्तिकै हाम्रो प्याङ्क्रियाजले पनि इन्सुलिन स्राव गर्छ ।
बारबार रक्त ग्लुकोज बढिरहेमा इन्सुलिन प्रतिरोधकता विकास भई टाइप–२ मधुमेहको समस्या देखा पर्छ ।
चायापोतो र डण्डीफोर आउने
उच्च ग्लाइसेमिक इन्डेक्स भएका जंकफुडहरू जस्तै चकलेट, मिठाई, लड्डु, सनपापडी आदिको सेवनले तुरून्तै रक्त ग्लुकोज र रक्त इन्सुलिन बढाइदिने गर्छ । यही कारण एन्ड्रोजेन स्राव र तेल उत्पादन भई चाया, पोतो र डण्डीफोरको समस्या जन्माउँछ ।
यसैगरी उच्च मात्रामा जंकफुडको सेवन गर्नेहरूलाई एक्जिमाको समस्या पनि देखा पर्छ । एक्जिमा भनेको एक किसिमको छालाको एलर्जी हो ।
क्यान्सरको जोखिम
जंकफुड खाँदा शरीरमा इन्फ्लामेसनलाई बढाइदिने हुँदा क्यान्सरको जोखिम बढ्छ । जंकफुडले ठूलो आन्द्रा र मलाशयको क्यान्सर, श्वासमार्गको क्यान्सर, फोक्सोको क्यान्सर, मुख, नाक, जिब्रो, घाँटी, स्वरयन्त्र, आमाशयको क्यान्सर हुने भय हुन्छ ।
नैराश्यता
प्राकृतिक तथा ताजा खानाले हाम्रो मनस्थितिलाई सही र सन्तुलित राख्छ भने जंकफुडले मानसिक उत्तेजना बढाइदिन्छ ।
यसलाई धेरै पटक सोधन र प्रशोधन गरेर उपयोग गरिने हुँदा उसका प्राकृतिक गुण धर्म नष्ट भएकाले यस्ता खानेकुरा खाँदा हाम्रो मस्तिष्क लगातार उत्तेजित भइरहने, तनाव, चिन्ता, नैराश्यता बढ्ने हुन्छ ।
छिट्टै बुढ्यौली
जंकफुडमा उच्च मात्रामा प्रयोग गरिएका नुन, चिनी र चिल्लोले विशेषतः क्रोमोजोमहरूको टेलोमेयर भनिने सीमावर्ती ढक्कनलाई छोट्याउने गर्छ । टेलोमेयरको मुख्य काम भनेको क्रोमोजोमलाई विकृत हुन र अन्य क्रोमोजोमसँग प्रतिक्रिया गर्न नदिएर जिनहरूको रक्षा गर्नु हो । यदि टेलोमेयर छोट्टिंदै गयो भने हाम्रो कोषहरू बुढो हुँदै जाने र छिट्टै बुढ्यौली सुरू हुने समस्या देखिन्छ ।
कलेजोमा बोसो जम्ने
प्रशोधित कार्बोहाइड्रेट त्यसमा पनि उच्च फ्रुक्टोज भएका खानेकुरा जस्तै चिनी, कर्न–सिरप, राइस–सिरप आदिको सेवन गर्दा ती तत्वमा भएको उच्च फ्रुक्टोज बोसोको रूपमा कलेजोमा संरक्षित भएर रहन्छ, फलतः कलेजोमा बोसो लाग्छ ।
मिर्गौलालाई क्षति
लामो समयसम्म जंकफुडको सेवनले मिर्गौलाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ । यसो हुनुको मुख्य कारण जंकफुडमा उच्च मात्रामा हालिएको नुन, चिनी र चिल्लो, अखाद्य रसायन हुन् । उच्च मात्रामा नुन चिनी र चिल्लोको सेवनले मिर्गौलाका सूक्ष्म रक्तनलीहरूलाई क्षति पुर्याउने हुँदा मिर्गौला क्षतिग्रस्त हुन सक्छ ।
(डा. कोइराला योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुरका मेडिकल निर्देशक हुनुहुन्छ ।)