विराटनगर । जीवित शिशुलाई मृत घोषित गर्ने चिकित्सक सहित ३ जना स्वास्थ्यकर्मीलाई काम गर्न रोक लगाइएको छ । विराटनगरको कोसी अस्पतालमा उपचारार्थ १८ दिने शिशुलाई मृत घोषित गरेका ३ जना कारवाहीमा परेका हुन् । अस्पतालका मेडिकल अफिसर आकाश यादव, अहेब लक्ष्मण माझी र टीका अधिकारीलाई काममा रोक लगाइएको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी सूचना अधिकारी रामप्रसाद नेपालले ३ जनालाई स्पष्टीकरण सोधिएको बताए । हाइपोथर्मिया भएकी शिशुलाई मृत घोषित गरी घर पठाइएको घटनाबारे छानविन गर्न अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वको ३ सदस्य समिति गठन गरिएको थियो ।
मोरङको जहदा गाउँपालिका–३ का दिलीप मुखिया र उनकी श्रीमती उमा मुखियाको शिशुलाई उपचार गर्ने क्रममा चिकित्सकले शिशुको उपचार नगरी मृत घोषणा गरी फिर्ता पठाइदिएका छन् । शिशुको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।