काठ्माण्डौ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आज पद तथा गोपनियताको शपथग्रहण गर्दैछन् । तेस्रो मुख्यमन्त्री बनेका नेकपा एमालेका पोलिटब्युरो सदस्य गिरीले औपचारिक रुपमा आजदेखि पदभार लिदै छन् ।
प्रदेशका ८७ सांसदमध्ये उनलाई ७ दलका ५८ सांसदले हस्ताक्षरसहित मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए । बुधवार प्रदेश प्रमुख अमिक शेरचनले बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्त गरेका थिए । आज दिउसो १ बजे प्रदेश राजधानी दाङमा प्रदेश प्रमुख शेरचनले शपथग्रहण गराउँदै छन् ।
शपथग्रहण लगत्तै लुम्बिनी प्रदेशको आज सानो आकारको मन्त्रीपरिषद् समेत गठन हुने जनाइएको छ । एमालेबाट २ र माओवादीबाट १ जना प्रदेश मन्त्री बन्नेछन् । एमालेबाट भूमिश्वर ढकाल र चेतनारायण आचार्य र माओवादीबाट संसदीय दलका नेता जोखबहादुर महरा मन्त्री बन्ने निश्चित छ । यसअघिको मन्त्रिपरिषद् १७ सदस्यीय रहेकोमा यसलाई घटाएर ११ बनाउने एमालेले प्रस्ताव गरेको छ ।