काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङको हल्ला सत्य नभएको बताएको छ । म्याच फिक्सिङ वा स्पट फिक्सिङ भएको भन्ने हल्लाको क्यानले खण्डन गरेको छ ।क्यानले बुधबार जारी गरेको वक्तव्यमा नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पु¥याउने गरी गरिएका यस्ता गतिविधि अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।म्याच फिक्सङ वा स्पट फिक्सिङबारे जानकारी भएमा प्रमाणसहित नेपाल क्रिकेट संघको केन्द्रीय कार्यालय र नेपाल टी–२० लिगको एन्टी करप्सन युनिटमा उजुरी बुझाउन पनि क्यानले आग्रह गरेको छ ।
मिथ्या र भ्रामक सूचना नफैलाउन पनि कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा हस्ताक्षरित वक्तव्यमा आग्रह गरिएको छ । ९ पुसदेखि सुरु भएको नेपाल टी–२० लिगमा बेटिङ, सम्भावित फिक्सिङ र विदेशी खेलाडीलाई श्रम स्वीकृतिविना खेलाइएको घटनाप्रति अनुसन्धान गर्न गृहमन्त्री रवि लामिछानेले मंगलबार नै नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
नेपाल टी–२० लिगको कमर्सियल तथा स्ट्र्याटेजिक साझेदारका रुपमा सञ्चालन अधिकार पाएको विवादित पृष्ठभूमिका सेभेन थ्री स्पोर्टस, फ्रेन्चाइज टिम र मालिकको अपारदर्शी गतिविधि, खेलाडीहरुलाई फिक्सिङका लागि आएको प्रस्ताव र केहि खेलमा देखिएका अस्वभाविक नतिजाका आधारमा धेरैले यो प्रतियोगितामा स्पट फिक्सिङ भएको हुनसक्ने आशंका गरेका छन् ।प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले यही आरोप लगाउँदै आफ्नो जिम्मेवारी छाडेका छन् ।