झापा । कम्बोडियास्थित ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा शुक्रबार भएको भीषण आगलागीमा ज्यान गुमाएका झापा विर्तामोड नगरपालिका–१ का ४० वर्षीय निराकार पाण्डेको परिवारले बेलैमा उद्वार हुन नसकेको दुखेसो गरेका छन् । बेलैमा उद्धार नहुँदा निराकारले मृत्युवरण गर्नुपरेको परिवारको दुखेसो छ । गत कात्तिक २१ गते निराकार घुमफिरका लागि थाइल्यान्ड पुगेका थिए । उनी केही दिनमै नेपाल फर्किने तयारी गर्दै थिए ।
पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड गएक उनि घुमफिरकै क्रममा कम्बोडियाको सीमावर्ती सहर पोइपेट पुगेका थिए । होटलमा भिषण आगलागी सुरु भएको करिब ४ घण्टाको अवधिमा उनले आफू आगलागीका कारण अप्ठेरोमा फसेको भन्दै घरपरिवार, आफन्तीलाई फोन गरेका थिए । काठमाडौँस्थित आमा र झापास्थित बुबालाई समेत भिडियो फोन गरेका थिए । बाँच्नका लागि १२औँ तलामाथिको झ्यालबाट हाम फाल्नुपर्ने अवस्थामा पुगेको जानकारी गराएका थिए । उद्धारको पर्खाइमा धैर्य गर्न बारम्बारपरिवारले सुझाव दिएको भाइ निश्चल पाण्डेले बताए ।
मृतकका बुबा एवम् विर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेले बेलैमा उद्धार नहुँदा छोराले मृत्युवरण गर्नुपरेको गुनासो गरे । बिहीबार राति साढे ११ बजेतिर होटलमा आगलागी सुरु भएको र शुक्रबार बिहान साढे ४ बजेपछि छोरा सँग सम्पर्क विच्छेद भएको बताए । थाइल्यान्डको राजधानी बैंककस्थित नेपाली राजदूतावासले मृतकको शवको तस्बिर नेपालस्थित मृतकका आफन्तलाई पठाएर शवको सनाखत गरिसकेको छ ।
हाल कम्बोडियामै रहेको शवलाई नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालय र बैंककस्थित नेपाली राजदूतावासमार्फत कूटनीतिक पहल भइरहेको मृतकका बुबा अग्निले बताए । यही पुस १५ गते होटलको १२औँ तलाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा निराकारले ज्यान गुमाएका थिए । बास बसेको होटलमा आगलागी भएको भन्दै धुवाँ फैलिरहेको भन्दै करिब ४ घण्टा फोन र भिडियो कल गरिरहेका थिए । युवा व्यवसायी निराकारको कम्बोडियामा आगलागी बाट ज्यान जोगाउन हामफल्दा मृत्यु भएको खबर फैलिएपछि विर्तामोड शोकाकुल बनेको छ ।
स्थानीयवासी मृतकको घरमा भेला भएका छन् । झापाको घरमा रहेका मृतकका साइला भाइ निश्चलले कम्बोडियाको पर्यटकीय क्षेत्रमा समेत विपत्का बेला उद्धारको भरपर्दो कुनै प्रबन्ध नभएकामा गहिरो खेद व्यक्त गर्नुभयो । सङ्गीतकार शिवशङ्कर थापाले अकल्पनीय घटनाले विर्तामोडबासी स्तब्ध भएको बताए ।