कोरोना भाइरसविरुद्ध दुवै डोज खोप लगाउँदा यो संक्रमण भएका मानिसहरूलाई मृत्युबाट ९८ प्रतिशतसम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारत सरकारले गरेको एक अध्ययनले कोरोना भाइरसविरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान गर्ने देखिएको छ ।
सो अध्ययनले एक डोज मात्र खोप लगाएका व्यक्तिलाई पनि कोरोना भाइरस संक्रमण भएको छ भने उनीहरूलाई ९२ प्रतिशतसम्म मृत्युबाट बचाउने देखिएको हो ।
भारतीय सरकारको निकट रहेको एक थिंक ट्यांक संस्था एनआईटीआईले गरेको सो अध्ययनबाट उक्त तथ्य भेटिएको बताइएको हो । सो इन्स्टिच्युटका निर्देशक भीके पाउलले शनिबार नयाँ दिल्लीमा आयोजना भएको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।
उनले कोरोनाविरुद्धको खोपले कोरोना लाग्न नदिनभन्दा पनि कोरोना लागिसकेपछि मृत्युबाट बचाउन निकै प्रभावकारी रूपमा काम गर्ने देखिएको बताए । उनले सो अध्ययन पञ्जावका प्रहरीमा गरिएको जानकारी दिएका थिए । उनका अनुसार पञ्जावमा कोभिडको खोप लगाएका र नलगाएका प्रहरीहरूमा सो अनुसन्धान गरिएको थियो ।
त्यस्तै, त्यहाँका प्रहरी जसले एक डोज मात्र खोप लगाएका र दुवै डोज खोप लगाएकाहरूमा पनि अनुसन्धान गरिएको थियो । तीमध्ये खोप नलगाएको तुलनामा लगाएका प्रहरीको मृत्युदर निकै कम थियो । त्यसैगरी दुवै डोज खोप लगाएकामा मृत्युबाट जोगाउनसक्ने ९८ प्रतिशत सुरक्षा रहेको पाइएको थियो ।
प्रकाशित मिति: शनिबार, असार १९, २०७८, २२:४५:३८