नेकपाबाट राष्ट्रिय सभा सदस्य बनेका बेदुराम भुसालले आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न राष्ट्रिय सभा सचिवालयलाई पत्राचार गरेका छन् ।
भुसालले आइतबार नेकपाको अस्तित्व नरहेकाले स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न आफूले पत्राचार गरेको बताए । ‘नेकपा नरहेपछि मलाई कुनै पनि दलमा प्रवेश गर्न अहिले मन लागेन । राष्ट्रिय सभाको अधिवेशन आह्वान भएकाले मैले मेरो हैसियत स्वतन्त्र हुनुपर्ने भन्दै पत्राचार गरेको हुँ,’ उनले भने ।
उनले यो निर्णयलाई एमाले परित्याग गरेको रुपमा बुझ्न नहुने बताएका छन् । ‘म नेकपाबाट निर्वाचित व्यक्ति नेकपा नै हुँ । मैले एमाले परित्याग गरेको अर्थ लाग्दैन,’ उनले शिलापत्रसँग भने।
स्वतन्त्र सांसदहरूले कुनै पनि अवस्थामा दल रोज्न पाउने कानुनी व्यवस्था भएकाले परिस्थिति अनुसार आफूले निर्णय लिने उनको भनाइ छ । एमालेको एकीकरणको प्रयास जारी रहँदा उनले लिएको निर्णयलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रकाशित मिति: आइतबार, असार १३, २०७८, २१:३०:००