हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेकी छिन्। हेरफेर गरिएको जिम्मेवारी अनुसार प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्रमन्त्री आफैंसँग राखेका छन् भने अन्य मन्त्रीहरूलाई पाँच वटासम्म मन्त्रालयको जिम्मेवारी दिइएको छ । मंगलबार सर्वोच्च अदालतले पछिल्लो पटक दुई चरणमा गरेको मन्त्रिमण्डल विस्तार तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि ओली सरकार प्रधानमन्त्रीसहित पाँच मन्त्रीमा खुम्चिएको थियो। त्यसपश्चात प्रधानमन्त्री ओलीले आफूसँग भएका मन्त्रीलाई रिक्त मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ मा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि परेका विभिन्न रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधवारदेखि निरन्तर अन्तिम सुनुवाइ हुने प्रक्रिया जारी छ। जसमा बिहीबार, आज देउवासहित १ सय ४६ सांसदका ८ वकिलले बहस गरेका छन्। बुधबारको बहसमा अधिवक्ताहरूले सर्वोच्चले अब राट्रपतिबारे बोल्नु पर्ने माग गरेका छन्। महाभारतको कथामा धृतराष्ट्रमा पुत्र मोह जागे जसरी राष्ट्रपतिमा ओली मोह भएको भन्दै अधिवक्ताहरूले यस्तो माग अघि सारेका हुन्। भोलि रिट निवेदकतर्फका भोली २९ जना कानून व्यवसायीले बहस गर्ने छन्।
बिहीबार विपक्षी गठबन्धनको तर्फबाट शिर्ष नेताहरूले सम्पादकहरूसँग विशेष अन्तर्क्रिया सम्पन्न गरेका छन्। जसमा, अधिकांश शिर्ष नेताहरूले प्रतिनिधिसभाको विघटनले लोकतन्त्रमाथि खतरा उत्पन्न भएको तथा, केपी ओलीको निरंकुशताले लोकतन्त्रवादी र वामपन्थीलाई एकै ठाउँमा ल्याइपुर्याएको बताएका छन्। उनीहरूले विशेष गरेर सर्वोच्च अदालतले संविधान र लोकतन्त्रको पक्षमा, न्यायको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गर्नुका साथै, सत्तारुढले सत्ताको आडमा अल्मल्याउन, जालझेल गर्न तथा षडयन्त्रहरु गर्नसक्नेमा सचेत हुँदै संयुक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन्।
‘सांस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित काठमाडौं महानगरपालिकाले १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट ल्याएको छ । यस्तै देशभरका अन्य चार महानगरपािलका तथा अधिकांश पालिकाहरूले पनि बजेट सार्वजनिक गरेका छन्। संवैधानिक व्यवस्था अनुसार असार १० गते भित्रमा पेश गर्नु पर्ने तथा असार १५ गते भित्रमा बजेट पारित गर्नुपर्ने प्रवधान अनुसार पालिकाहरूले बजेट सार्वजनिक गरेका छन्। यसैबीत ललितपूर महानगरपालिकामा भने बहुमत जनप्रतिनिधिहरूको अवरोधपछि ललितपुरको बजेट सार्वजनिक कार्यक्रम प्रभावित बनेको छ ।
मिनि विश्वकपका लिइने युरोकप २०२० यतिबेला युरोपका विभिन्न ११ शहरमा जारी छ। १६ औं संस्करणको यो प्रतिस्पर्धामा गएराति सम्पन्न ४ खेलसँगै समूह चरणका सबै खेलहरु सकिएका छन् । ६ समूहको शीर्ष दुई र समूहको तेस्रो स्थान प्राप्त गर्ने मध्येको उत्कृष्ट चार टिमले अन्तिम १६ को यात्रा तय गरेका हुन् । अब सबैको ध्यान नकआउट चरणतर्फ रहेको छ ।
प्रकाशित: १० असार २०७८ २०:४५ बिहीबार