फ्रान्स समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
यता फ्रान्ससँग २-२ गोलको बराबरी खेलेकाे पोर्चुगल पनि तेस्राे हुँदै नकाउट चरणमा प्रवेश गरेकाे छ । हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।
रोमान्चक बनेको खेलको ३१ औं मिनेटमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याए ।
दोस्रो हाफको सुरुवातमै फ्रान्सले अग्रता बनायो । पाउल पोग्बाको पासमा बेन्जिमाले ४८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलाए ।
तर, ६० औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-२ गोलको बराबरीमा ल्याए । फ्रान्सका जुलेसले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीमा रोनाल्डोले सहजै गोल गरेका हुन् ।
यस बराबरीसँगै समूह ‘एफ’ मा रहेको फ्रान्सले ३ खेलमा ५ अंक जोड्यो । र, शीर्ष स्थानमा रहदै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
यस अघि समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको थियो । तर, दोस्रो खेलमा फ्रान्स हंगेरीसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
फ्रान्ससँगको बराबरीसँगै पोर्चुगलले ३ खेलमा ४ अंक जोड्यो । पोर्चुगल समूहको तेस्रो स्थानमा रह्यो ।
प्रकाशित: १० असार २०७८ ०७:५६ बिहीबार