राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले सुखी, खुशी, समावेशी नेपाल निर्माण गर्न त्रुटीपूर्ण शान्ति प्रक्रिया र राजनीतिक संरचनामा पूनर्विचार गर्नु पर्ने बताएका छन्।
‘त्रिपक्षीय द्वन्द्वको एक पक्ष दरबार अर्थात् राजसंस्थालाई पाखा राखेर नयाँ नेपाल, दिगो शान्ति प्राप्त भएन। हालसम्मको प्रयास र राजनीतिक प्रक्रिया सफल भएन। त्यसकारण सुखी, खुशी र समावेशी नेपाल प्राप्त गर्न, पूर्वाग्रही मार्गचित्र त्यागेर राजसंस्थासहितको व्यवहारिक प्रजातन्त्र आवश्यक भएको छ,’ राप्रपाका कार्यसम्पादन सदस्य लावतीले भने।
राष्ट्रियता, प्रजातन्त्र सुदृढ तुल्याउन, नयाँ द्वन्द्वको सम्भावना निमिट्यान्न पार्न राजसंस्था, सनातन हिन्दुराष्ट्र पक्षधरलगायत सबै नेपालीहरु एक ठाउँ बसेर वर्तमान संकट निवारण गर्नु पर्ने लावतीको भनाइ छ।
संविधान र पद्धति संकटग्रस्त भएको भन्दै लावतीले, कार्यपालिका, व्यवस्थापिका, राष्ट्रपति, प्रधानमन्त्री मात्र नभएर पछिल्लो समय न्यायालय नै विवादको घेरामा परेको भन्दै चिन्ता प्रकट गरे।
‘राष्ट्रपति र प्रधानमन्त्रीले संविधान च्याते भन्ने निष्कर्ष छ। तर सोही आरोप लगाउने पक्षलगायतले संविधान, कानून, विधी पाइला, पाइलामा च्यातेका छन्,’ उनले भने ।
‘संविधानसभा पूर्णरुपमा गठन नै नभई राजसंस्था फालियो। संविधानसभाका सदस्यहरुको सहभागिता र जानकारीबिना संविधानसभा बाहिर गरिएको निर्णय संविधानसभामाथि लाद्ने काम गरियो। मध्यरातपछि पटक–पटक संविधानसभालाई रबर स्ट्याम्प बनाइयो,’ राप्रपाका युवा नेताले भने।
‘बास्तवमा आफूलाई विधिभन्दा माथि राख्ने राजनीतिक नेता, पात्रका कारण आज राष्ट्रले यो नियति भोग्नु परेको छ।’
प्रकाशित: २७ जेष्ठ २०७८ १६:४१ बिहीबार