मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको रकम घरजग्गा व्यवसायीहरूले व्यहोरेका छन् ।
हेटौँडा उपमहानगरपालिकाको लगानीमा दुई साताअघि अस्पतालमा दैनिक १५ देखि १८ वटा सिलिण्डर भर्ने क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको भन्दै प्रचार गरिएको थियो । हेटौँडाका नगर प्रमुख हरिबहादुर महतले प्लान्टको उद्घाटन पनि गरिसकेका छन् । उनै महतले अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि उपमहानगरको अन्य खर्च कटौती गर्दै १ करोड २८ लाख रुपैयाँ लिने निर्णय पनि गराएका थिए ।
उपमहानगरले जडान गरेको अक्सिजन प्लान्टको ३८ लाख रुपैयाँ खर्च मकवानपुर घरजग्गा व्यवसायी संघले आइतबार हस्तान्तरण गरेको छ । बयोधा मेडिकल टेक्नोलोजी प्रालिले नगर प्रमुख महतको पहलमा अस्ट्रेलियन टेक्नोलोजीको प्लान्ट जडान गरिदिएको हो । उपमहानगरले खरिद प्रक्रियाअनुसार प्लान्टको भुक्तानी दिन ढिलाइ हुने भएपछि घरजग्गा व्यवसायी संघले नै ३८ लाख रुपैयाँ व्यहोरेको हो ।
सरकारी खरिद प्रक्रियाबाट प्लान्टको भुक्तानी दिन ढिलाइ हुने भएपछि संघले लागत व्यहोरेको नगर प्रमुख महतले नै बताएका छन् । ‘हाम्रो खरिद प्रक्रियाले भुक्तानीमा ढिला हुन्छ । त्यसैले संघले नै लागत व्यहोरेको हो । प्लान्ट निर्माणले आगामी दिनमा समेत अस्पतालको सेवामा टेवा पुर्याउनेछ,’ रकम हस्तान्तरणमा महतले भने ।
महतले अक्सिजन अभाव भएपछि आलोचना गर्न थालेकाले तत्काल निर्णय लिएको बताएका छन् । तत्काल निर्णय गरेर अक्सिजन प्लान्ट जडान गरेकाले भुक्तानीमा पनि सहज बनाइएको बताए । घरजग्गा व्यवसायी संघले उपमहानगरपालिकाको समन्वयमा जडित प्लान्टको लागत व्यहारेको संघका अध्यक्ष ध्रुव घिमिरेले जानकारी दिए ।
अक्सिजन प्लान्ट जग्गा व्यवसायी दीपक खनालले ल्याएका थिए । खनालले धादिङ अस्पतालका लागि ल्याइएको अक्सिजन प्लान्ट हेटौँडा ल्याइएको बताएका छन् । ‘यो नयाँ भर्जनको अक्सिजन प्लान्ट हो । मैले धादिङ अस्पतालका लागि ल्याएको थिएँ तर, धादिङले खरिद प्रक्रियामा ढिलाइ गर्ने भएपछि मेयर महतको पहलमा हेटौँडा ल्याएको हुँ,’ खनालले भने ।
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८, १४:३४:००