झापाको शिवसताक्षी नगरपालिकाले किसानलाई बुधबार विभिन्न प्रकारका कृषि उपकरण वितरण गरेको छ। नगरपालिका प्रमुख चन्द्रकुमार शेर्माले नगरपालिकाको ५० प्रतिशत अनुदानमा किसानहरूलाई २२ वटा ट्रिलर, धान काट्ने रिपर २२ वटा र २२ वटै मकै गोड्ने मेसिन प्रदान गरेका हुन्।
नगरपालिकामा बुधबार एक कार्यक्रमको आयोजना गरी किसानलाई उपकरण प्रदान गरिएको नगरको कृषि शाखाले जनाएको छ।
नगरप्रमुख शेर्माले किसानहरूलाई कृषि पेशामा प्रेरित गर्न अनुदानमा कृषि उपकरण वितरण गरिएको जानकारी दिए। ‘कृषि क्षेत्रमा आधुनिकीकरणसँगै प्रविधिको उच्च प्रयोग गर्न नगरपालिकाले योजना बनाइरहेको छ,’ उनले भने, ‘किसानलाई कृषि पेशामा अत्याधुनिक उपकरणसहित जोड्ने हाम्रो प्रयत्न छ।’
किसानलाई सामूहिक खेती र एकीकृत कृषि प्रणालीमा जोड दिइएको उल्लेख गर्दै नगरप्रमुख शेर्माले आफूले पाएको प्रविधिको उपयोग गरी लाभ लिनसमेत किसानलाई अनुरोध गरेका छन्।
कृषि उत्पादनमा लागत घट्ने भएकाले किसानलाई उपकरण वितरण गरिएको शिवसताक्षी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले बताइन्।
अनुदानमा उपकरण पाएपछि खुसी हुँदै शिवसताक्षी नगरपालिकामा धान, गहुँ र तरकारी खेती गर्न उपकरण किसानको साथी हुने किसानले बताएका छन्। मैनाचुली कृषक समूहका सागर राईले भने, ‘किसान एक उपकरण अनेक भएपछि खेतीपाती गरेरै आत्मनिर्भर बन्न सकिन्छ। त्यसका लागि विदेश गइराख्नु पर्दैन।’
नगरपालिकाले २६ लाख १२ हजार ५ सय मूल्य बराबरका पावर टिलर, रिपर र मकै गोड्ने मेसिन किसानलाई अनुदानमा दिएको छ।
यस्तै, साना सिँचाइका लागि २ एचपीको ४४ थान मोटर १०० प्रतिशत अनुदानमा किसानले पाएका छन्।
आकाशे खेतीलाई नगरपालिकाले दिएको साना सिँचाइ मोटरबाट आफूले लगाएका फसल सिञ्चित हुनेमा किसान ढुक्क छन्। शिवसताक्षी-११ का किसान रामबहादुर न्यौपानेले भने, ‘कुलो र नहरले नछोएका किसानका लागि नगरपालिकाले दिएको साना सिँचाइका लागि मोटर निकै प्रभावकारी हुनेछ।’
किसानलाई नगरपालिकाले औजारतर्फ २६ लाख १२ हजार ५ सय र सिँचाइतर्फ ११ लाख गरेर ३७ लाख १२ हजार ५ सय अनुदान दिएको छ। विगत तीन वर्षदेखि नगरपालिकाले किसानका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको कृषि शाखाकी जानुका मास्केले बताइन्।
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८, २२:४०:००