माओवादी केन्द्रले कारबाही गरी निष्कासन गरेका तीन जना प्रदेशसभा सदस्यले नियमविपरीत अपदस्त गरिएको भन्दै सर्वोच्च अदालतमा उत्प्रेषण तथा परमादेशको निवेदन दिएका छन् । अपदस्त भएका तीनै जना आफूहरू माओवादीमै रहेको दाबी गर्दै प्रदेशसभा सदस्य पद कायम गरिपाऊँ भनी मुद्दा दिएका हुन् ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित कुन्दनप्रसाद कुशवाहा, धनुषा निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित रामचन्द्र मण्डल, बाराबाट प्रदेश नम्बर २ बाट समानुपातिक बन्द सूचीबाट निर्वाचित भएका महम्मद समीरले आफूहरू माओवादीमै रहेको दाबी गरेका हुन् । संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषण तथा परमादेशलगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरिपाऊँ भन्दै १३ जेठमा सर्वोच्चमा मुद्दा दर्ता गराएका छन् ।
जनताको मत पाएर निर्वाचित भएको, निर्वाचन आयोगले प्रदेशसभा सदस्य पदको प्रमाणसमेत दिएको, दलबाट राजीनामा नदिएकोलगायतका तर्कहरू राख्दै उनीहरू न्यायका लागि सर्वोच्च पुगेका छन् । सर्वोच्चमा दायर रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अन्तरिम आदेश जारी हुने/नहुने प्रश्नको निरुपण गर्न उपयुक्त देखिएको भन्दै लिखित जवाफसँगै सर्वोच्च उपस्थित हुन विपक्षीको नाममा आदेश जारी गरेको छ ।
प्रदेशसभा सचिवालय प्रदेश २ जनकपुरधाम, नेकपा माओवादी केन्द्र, नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय प्रदेश २ र निर्वाचन आयोग समेतलाई नियमावली २०४७ को नियम ४९ को २ (ग) को प्रयोजनार्थ यही १९ जेठमा छलफलको इजलासले बोलाएको छ । रिट निवेदकले नेपालको संविधानको धारा १७८ बमोजिमको योग्यता पूरा गरी प्रदेशसभा सदस्य पदमा निर्वाचित भएको भन्दै संविधानको धारा १७७ बमोजिम निर्वाचित भएको मितिले ५ वर्षसम्म आफूहरू पदमै रहने संवैधानिक व्यवस्था कायम रहेको जिकिर गरेका छन् ।
सर्वोच्चले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि एमालेमा लागेको भन्दै माओवादी केन्द्र प्रदेश २ ले आफ्ना चार जना प्रदेशसभा सदस्यहरू रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा, मोहम्मद समीरलाई पदबाट बर्खास्त गरेको थियो ।
प्रदेशसभा सदस्य पदमा नेकपाको मत पाएर निर्वाचित भएको भन्दै अपदस्त भएका नेता रामचन्द्र मण्डलले आफूहरूलाई पदबाट अपदस्त गर्नु नियमसंगत नभएको बताए । ‘न म एमालेको मत वा माओवादी केन्द्रको मत पाएर निर्वाचित भएको थिएँ, म त नेकपाको मत पाएर निर्वाचित भएको थिएँ ।’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यवहारले पार्टी विभाजन भएको र यस्तो परिस्थिती सिर्जना भएको उनको आरोप छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८, २१:५६:३७