नेपालका कोरोना संक्रमितका लागि हङकङवासी एक नेपालीले एक्लैको पहलमा डेढ करोड रुपैयाँ सहयोग रकम जुटाएका छन । पर्वत जिल्ला घर भएका आपुन एचके (भोटे) एक्लैको पहलमा नेपालमा कोरोनाबाट पीडितका लागि हङकङ डलर १० लाख ५ हजार (करिब १ करोड ५२ लाख रुपैयाँ) सहयोग रकम हात परेको हो । आफ्ना रोजगारदाता रियल स्टेट व्यापारी प्याट्रिक सेक एक्लैबाट उनले त्यति धेरै सहयोग रकम प्राप्त गरेका हुन ।
प्राप्त सहयोग रकममध्ये परोपकारी संस्था ‘सावर एक्सन’मार्फत कोरोना पीडित नेपालका नेपालीका लागि ५ सय थान अक्सिजन सिलिन्डर र अत्यावश्यक अन्य सामग्री खरिदमा खर्च गरिने आपुन एचकेले जानकारी दिए । अक्सिजन नभएकै कारण नेपालमा कोरोनाका बिरामीले ज्यान गुमाइरहेको हृदयविदारक दृश्य सञ्चारमाध्यममा देखेपछि मन थाम्नै गाह्रो भएकाले केही सहयोग गर्ने सोच आएको उनले बताए ।
तर आफैंले केही गर्न सक्ने क्षमता उनमा थिएन । त्यसैले १२ वर्षदेखि आफू अंगरक्षकका रूपमा सेवा गरिरहेको आफ्नै साहुसँग उनले यस विषयमा कुरा राखे । ‘परिवारको सदस्यजस्तै व्यवहार गर्ने बोसले २५/३० हजार डलर त कसो नदेलान भन्ने लागेको थियो,’ उनले सुनाए, ‘तर सोमबार बिहान बोलाएर १० लाख ५ हजार डलर मेरो हातमा थमाइदिँदा त मलाई सपनाजस्तै लाग्यो ।’
केही नेपाली बौद्धिकको सल्लाहबमोजिम भरपर्दो संस्थामार्फत रकम नेपालका कोरोना पीडितका लागि खर्च गर्न लागिएको उनले बताए । सावर एक्सन, नेपालमा शैक्षिक क्षेत्रमा सहयोग गरिरहेको संस्था तथा यसका सञ्चालकसँग व्यक्तिगत चिनजानसमेत भएकाले सोही संस्थामार्फत सहयोग रकम खर्च गर्न लागिएको उनले जानकारी दिए ।
‘मलाई लाग्छ, रकम सही समय, स्थान र व्यक्तिसमक्ष पुगे मलाई थोरै भए पनि मातृभूमिको ऋण तिर्न सकेको महसुस हुनेछ,’ उनले भने ।
नेपालमा कुनै विपत्ति आइपर्दा हङकङवासी नेपाली सहयोगका लागि सधैं सक्रिय हुने गरेका छन । यसपटक एकै व्यक्तिको पहलमा यति धैरै सहयोग रकम सम्भवतः पहिलोपटक जुटेको हुनुपर्छ ।
आपुन (भोटे) ३ दसकदेखि हङकङमा छन । उनले मुअय थाई बक्सिङ र बडिबिल्डिङमार्फत आफ्नो परिचय बनाएका छन ।