काठमाडौं । डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् ।बिहीबार अपरान्ह उनले फेसबुकमार्फत ५० वर्षदेखि आफ्नो पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् ।स्वर्णिमले अब वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणमा लाग्नुपर्ने भन्दै २०८० सालको सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा देखिने बताएका छन् ।
‘अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आवद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ’ स्वर्णिमले लेखेका छन्, ‘सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु ।’वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ बाट उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न प्रस्ताव गरेको छ ।
पछिल्ला वर्षहरुमा कांग्रेस पार्टीभित्रका गतिविधि नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शिर निहुरिने अवस्था आएको वाग्लेले उल्लेख गरेका छन् । ‘जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ’, उनले भनेका छन् ।कांग्रेसमा ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा रहेर आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा काम गरेको वाग्लेले बताएका छन् ।
राष्ट्रिय योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवाले दिएको जिम्मेवारी कुशलताका साथ सम्पन्न गरेको उनले बताएका छन् ।यसअघि बिहीबार नै स्वर्णिमले कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा नेता शेखर कोइराला र गोविन्दराज पोखरेललाई एक सन्देश पठाएका थिए । जसमा शेरबहादुर–आरजु गिरोहको निरन्तर हेपाइका कारण कांग्रेसमा रहन नसकेको उल्लेख गरेका थिए ।