अन्धविश्वासले मान्छेको ज्याननै लैजान सक्छ । २१ औँ शताव्दीमा समेत अझै हाम्रो समाज धामि, झाँक्रि, झारफुक, लागभाग, टुनामुना जस्ता गतिविधिबाट मुक्त हुन सकेको छैन । धर्म एवम् परम्पराको नाममा वैज्ञानिक युगको समेत खिल्ली उडाउने काम भएका छन् । यही फागुन २० गते झारपुकको बहानामा कक्षा ९ पढ्ने १४ वर्षिया सिता ज्ञवालीको निर्मम हत्या भएको छ । रुपन्देही सैनामैना नगरपालिका १० बेमतनी की ज्ञवालीको हत्या आरोपमा झारफुक गर्ने २२ वर्षिया माता भन्ने सोनिया रेश्मी सहित १७ जना पक्राउ परेका छन् । निर्मम यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । भिडियोमा देख्न सकिन्छ– भगवानका तस्वीरहरु भएको कोठामा रेश्मीले सितालाई लछारपछार गरिरहेकी थिइन् । घण्टी बजाउँदै १४ वर्षिया सितालाई मेरो पावर देखिस भन्दै कुटपिट गरेकी थिइन् ।
बाल्टी, जगबाट मुखमा पानी खन्याउने, खरानी खुवाउने, शारिरमाथिनै बसेर लात्ति हान्ने, अनुहारमा समेत लात्ती हान्ने, थप्पड हान्ने सम्मका हर्कतहरु गरेकी थिइन् । चुल्ठोमा समात्दै घिसारेकी थिइन् । नरिवल फुटाएर मुखमा लगाएको देख्न सकिन्छ । टाउको समेत बटार्ने गरेकी थिइन्, थुक्ने, मुख धोएको पानी खन्याउने सम्मका उनका क्रुर व्यवहार थिए । २० गतेनै सिताको दाहसंस्कार लक्ष्मणघाटमा गरिएको थियो । घटनामा गाउँलेनै पक्राउ परेका छन् । एकै गाउँका १७ जना पक्राउ परेका छन् । कथित माता सोनिया रेश्मी, मृतक बालिकाका बुबा, मामा, मलामी सहित १७ जना पक्राउ परेकोे रुपन्देही प्रहरीले जनाएको छ । जब सिताको ज्यान गयो, घटना लुकाउन रातीनै दाहसंस्कार गरे । आफन्तीले यातना दिदा बचाउन छाडेर भिडियो खिचिरहे । जब भिडियो सार्वजनिक भयो, इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले २२ गतेनै कथित मातालाई पक्राउ गरेर अनुसन्धान ग¥यो ।
घटना यस्तो थियोः
मृतक सिता १२ गते जंगल गएकी थिइन् । दाउरा काट्ने क्रममा कान दुखेपछि दिउसो उनी घर आइन् । त्यसपछि एक्लै उनी नजिकैको औषधि पसल पुगेर कानको दुखाई कम गर्ने औषधि लिइन् । २ दिनपछि फेरी दुखाई बढ्यो, फेरी कान सफा गर्न सालझण्डी पुगे । तर, निको भएन । सितालाई ज्वरो पनि आयो १८ गते साँझ । चेकजाँच गर्दा टाइफाइड देखिएको मृतककी आमाले बताएकी छन् । तर राती वान्ता हुन थालेपछि फेरी उपचार थालियो । निको नभएपछि घरपरिवारले लागभाग लागेको आशंका गरे । गाउँलेसँग सल्लाह लिए । गाउँकै कथित माताकोमा जाने कुरा चल्यो । २० गते विहानै सिताको उपचार गर्न परिवारले अटोरिक्सा लिएर सालझण्डी बजारको मेडिकल पुगेको देखिन्छ ।
तर, सञ्चो नभएपछि राती उनीहरु कथित माता सोनियाकोमा पुगे । राती साढे ९ बजे झारफुकै क्रममा सिताको मृत्यु भयो । मृतककी आमाले भनेकी छन्– बोक्सीलाई पिटको हो, यही नचाउँछु भन्दै यातना दिएकी थिइन् । चुल्ठोमा समात्दै लछारपछार गर्दै कुटपिट गरेपछि त्यसो नगर्नुस् भन्दा नबोल्नस् भनियो, मैले कुटेको हेर्न सकिन । लछारपछार गर्दा सिताले कथित माताको खुट्टा समातेरै विन्ति गरेकी थिइन् । तर, उनको भावलाई कसैले हेरेनन् । कथित माताको क्रुर व्यवहारको साक्षी बनिरहे । प्रहरीले कर्तव्यज्यान सम्बन्धि मुद्धामा अनुसन्धान गरिरहेको छ । ७ दिनको म्याद थपिएको छ । सोनिया रेश्मी स्वास्थ्य विषयमा बिए दोस्रो वर्ष अध्ययन गरेकी थिइन् ।
कथित माताहरुका यस्ता हर्कतहरु रोक्न कडा कारवाही हुनैपर्छ । रुढीवादी परम्पराले जकडिएको समाजमा सचेतना फैलाउन जरुरी छ । उपचार गर्न झारफुक होइन, अस्पताल जानुपर्छ । रोग निको पार्छु भन्दै संवेदनहीन राक्षसीपनका व्यक्तिहरु विरुद्ध आवाज उठाउनुपर्छ । बिरामीको उपचारमा हेलचक्राई गर्नुहुदैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । सिंगो गाउँनै अनुसन्धानको घेरामा परेको छ । मृतक सिता ज्ञवालीले न्याय पाउन । अन्धविश्वासका नाममा फेरी कोही कसैले ज्यान गुमाउन नपरोस् ।