काठमाडौँ–चलचित्र प्राविधिक संघ (नेफ्टा)को अध्यक्षमा प्रेम भोम्जन (पुष्कर लामा) तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन्। बिहिबार राजधानीमा सम्पन्न संस्थाको बीसौं वार्षिक साधारण सभाले लामालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो।
निर्वाचन अधिकृत राजुप्रसाद धिमालले अध्यक्षसहित ‘के घर के डेरा’ फेम्ड निर्माण नियन्त्रक युवराज कार्की महासचिवमा र कृष्णबहादुर थापा कोषाध्यक्षमा निर्विरोध निर्वाचित भए। अन्य पदका लागि निर्वाचन भैरहेको छ। अध्यक्षको रुपमा ह्याट्रिक गरेपछि संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष लामाले फिल्म प्राविधिकलाई सरकारले लागू गरेको सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नु आफ्नो मुख्य एजेण्डा रहेको बताए।
साथै, फिल्म अध्ययनमा प्राविधिक र उनीहरुका सन्तानलाई कलेज तथा विश्वविद्यालयमा विशेष छूटका लागि पहल गर्ने योजना समेत छ। आगामी कार्यकालमा नेफ्टाको आफ्नै भवन निर्माण गर्ने योजना समेत उनको छ। नेफ्टाको साधारण सभाका लागि बिहिबार देशभर फिल्म छायांकन कार्य स्थगित गरिएको थियो भने जिल्लामा पुगेका प्राविधिक सदस्यहरु राजधानी आइपुगेका थिए।