काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’को अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सीआईबीले मंगलबार (हिजो) फाइल जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको हो ।अब सरकारी वकिलको कार्यालयले फाइल अध्ययनपछि अदालतमा अभियोगपत्र दायर गर्नेछ ।
सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीका अनुसार उक्त घटनामा ११ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुलाई खेलकुद ऐन अनुसार तीन वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने सिफारिस पनि गरेको थापाले जानकारी दिए ।नेपाली टी–२० लिग गत पुस ९–२७ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको थियो । प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल आलम, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन् ।
नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदारका रुपमा नेपाल क्रिकेट संघ (क्यान)सँग सम्झौता गरेको विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया पनि स्पट फिक्सिङमा प्रत्यक्ष संग्लग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको स्रोतले जनाएको छ ।