काठमाडौँ । एकीकृत समाजवादी पार्टीले देशव्यापी रुपमा पुनः गठन गर्ने भएको छ । वडा तहदेखि कम्तिमा प्रदेश तहसम्मका कमिटीहरुलाई पूर्णता दिन लागेको हो । महासचिव वेदुराम भुसालले कार्यतालिका सार्वजनिक गरेका छन् । बाँकी रहेका पालिका तथा विशेष इलाकामा आउँदो चैत मसान्तभित्र कमिटि गठन गरिसक्ने जनाइएको छ । वडाहरुमा २०८० वैशाख १५ गतेभित्र अधिवेशन सक्ने उल्लेख छ ।
पालिका तथा विशेष इलाकामा २०८० वैशाख मसान्तभित्र अधिवेशन गर्ने भनिएको छ । २०८० साल जेठ मसान्तभित्र सबै जिल्लाको अधिवेशन गर्ने तालिका बनाइएको छ । आउँदो कात्तिक महिनाभित्र सबै प्रदेश अधिवेशन सक्ने लक्ष्य रहेको उनले बताए । सबै जनवर्गीय, पेशागत सामुदायिक संगठनका कमिटिहरुलाई तत्काल सम्मेलन अधिवेशन कमिटिमा रुपान्तरण गर्ने निर्णय गरेको छ । २०७९ फागुन मसान्तभित्र सबै जनवर्गीय, पेशागत र सामुदायिक संगठनका जिल्ला अविधेशन गरिसक्ने, ती संगठनहरुको चैत मसान्तभित्र प्रदेश र आउँदो जेठभित्र प्रदेश अधिवेशन पनि सम्पन्न गर्ने गरी कार्यतालिका बनाएको छ । संगठन विभागले गत पुस ६ गते गरेको निर्णयअनुसार माघ २१ र २२ गते केन्द्रीय कमिटिको बैठक आह्वान भएको छ ।
पार्टी एकता अलमलमै
माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एकआपसमा मिल्ने तयारी गरेका छन् । दुबै दलले कार्यदल पनि बनाएका छन् । जनता समाजवादीसँग पनि पार्टी एकताको प्रयास भैरहेको छ । जसपासँगको वार्ता सकारात्मक रहेको एकीकृत समाजवादीले जनाएको छ । तर, माओवादी केन्द्रसँग प्रयाप्त छलफल हुन सकेको छैन । एकीकृत समाजवादी र जसपाले दस्तावेज आदानप्रदान गरिसकेका छन् ।
दुवै दलका शिर्ष नेताहरुले दस्तावेज अध्ययन गर्दैछन् । वामदेव गौतमसँग पनि एकताका लागि हात बढाएको छ । विभिन्न दलहरुसँग एकता वा मोर्चा बनाउन संवाद तथा छलफल भैरहेको उपमहासचिव प्रकाश ज्वालाले बताए । “पार्टी एकता तत्काल सम्भव नभए मोर्चा बनाएर कार्यगत एकता गर्ने विषयमा पनि छलफल भएको छ”, उनले भने, “एकताका लागि हामीले ढोका खुल्ला गरेका र्छौँ ।”