काठमाण्डौ । सुर्खेतको भेरी पुल नजिकै भएको जिप दुर्घटनामा ज्यान गुमाएका ४ जनाको पहिचान भएको छ । ४ जनानै स्वास्थ्यकर्मी भएको खुलेको हो । वीरेन्द्रनगर नगरपालिका–११ रत्नरामार्गको भेरी पुलनजिकै झुप्रा खोलामा आज बिहान करिब २ बजेतिर जिप दुर्घटनामा परेको थियो । जीप चालक भैरवी गाउँपालिका हाल वीरेन्द्रनगर– ७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका– ५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका– ५ का ३१ वर्षीय वविन शाही र दैलेख गुराँस गाउँपालिका– ३ का ३६ वर्षीय राजेन्द्र बीसी छन् ।
दैलेख भैरवी गाउँपालिका– ५ का २५ वर्षीय वीरेन्द्रराज शाही घाइते छन् । उनलाई थप उपचारका लागि काठ्माण्डौ पठाइएको छ । दीपेन्द्रजंग शाही डुगेश्वर गाउँपालिका स्वास्थ शाखा दैलेख, बबिन शाही भगवतीमाई गाउँपालिका स्वास्थ्य शाखा दैलेखमा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैठौं), र राजेन्द्र बीसी गुराँस गाउँपालिका स्वास्थ्य शाखा दैलेखमा जनस्वास्थ्य निरीक्षक (छैठौं) मा कार्यरत थिए ।
दुर्घटना परी घाइते भैरवी गाउँपालिका स्वास्थ्य शाखा दैलेखमा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैठौं) वीरेन्द्रराज शाही रहेका छन् । गाडीचालक सागर शाही सुर्खेतमा रारा मेडिसिन डिस्ट्रिब्युटर सञ्चालन गर्दै आएका थिए । उनीहरू कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले शनिबार आयोजना गरेको एचएमआईएस, भीएसआईएस, ईएलएससम्बन्धी तीन दिने समीक्षा गोष्ठीमा सहभागी भएर फर्किदै थिए । बा. प्र ०१०२६ च ९२१३ नम्बरको डबल क्याप गाडी दुर्घटना भएको हो ।