पोखरा । आइतबार पोखराको सेती नदी खोँचमा दुर्घटनामा परेको विमानका यात्रुमध्ये २ जना यात्रुको शव अझै फेला पर्न सकेको छैन । दुर्घटनामा परेको यती एयरको सो विमानमा सवार ७२ जनामध्ये ७० जनाको शव भेटिएको छ ।
सोमबार साँझ थप १ शव फेला परेको थियो । कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले मंगलबार विहानै देखि हराइरहेका २ यात्रुको खोजी गरिने बताए । ड्रोन क्यामेराको सहायताले खोजवीन हुने बताए । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा शवहरु राखिएका छन् । २४ जनाको मात्रै पोखरामा र ४६ वटा काठ्माण्डौको शिक्षण अस्पतालमा पोस्टमार्टम हुनेछ ।
यस्तै विमान दुर्घटनाको क्षति मूल्याङ्कन गर्न बीमा सर्भेयर र कानून व्यवसायीहरूको टोली नेपाल आएको छ । क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्नका लागि सर्भेयर टोली सिङ्गापुर र कानूनी व्यवसायीको टोली भारतबाट सोमबार काठमाडौँ आइपुगेको छ ।
यात्रुको बीमा दाबी भुक्तानीका लागि समस्या नहुने जनाइएको छ । यस्तै यती एयरलाइन्सको आइतबार भएको दुर्घटनालगत्तै नेपालमा उड्ने सबै एटीआर जहाजको विस्तृत प्राविधिक परीक्षण गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यसरी गरिएको परीक्षणबाट कुनै पनि वायुयानमा त्रुटि फेला नपरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।