भरतपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अभिलेखमा भरतपुर अस्पताल नै नभएको भेटिएको छ । २०७५ सालमा भरतपुर अस्पताल केन्द्रिय अस्पताल घोषणा भएको थियो । तर मन्त्रालयको आधिकारिक अनलाइन पोर्टलमा नेपालमा ११ वटा मात्रै केन्द्रिय अस्पताल समावेश छन् । स्वयम मन्त्रालयका जिम्मेवार अधिकारी समेत केन्द्रिय अस्पतालको विषयमा अनविज्ञ रहेको पाईएको छ ।भरतपुर अस्पताल केन्द्रिय अस्पताल हो भन्ने विषयमा मन्त्रालयका सहायक सुचना अधिकारी माधव प्रसाद श्रेष्ठले अनविज्ञता व्यक्त गरे ।
यस विषयमा कपुरबोट मिडियासँग कुराकानी गर्दै मन्त्रालयका सहायक सुचना अधिकारी श्रेष्ठले सबै विवरण अपडेट नभएको स्वीकार गरे । पोर्टलमा समस्या आएका कारणले बनाउन नसकिएको उनको भनाई छ । मन्त्रालयमा आफ्नो अस्पतालको विवरण नराखिएको विषयमा कुनै जानकारी नभएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बताए । यस अस्पताल केन्द्रिय अस्पताल रहेको विषयमा कुनै दुविधा नरहेको स्पष्ट पार्दै उनले मन्त्रालयसँग अभिलेख किन नराखिएको हो ? बुझ्ने बताए ।
तर सरकार प्रमुखको नेतृत्व लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रालय जिम्मेवारी भने अभिलेखमा छ । अहिले पनि अंञ्जल, क्षेत्रीय अस्पताल नै रहेका राखिएका छन् । संघीयता कार्यान्वयन भईसकेको अवस्थामा स्वास्थ्य क्षेत्रको मुख्य निकाय मन्त्रालयले समेत यसको पालना नगरेको हो । सरकारी कार्यालयमा भएका कामकारवाही, नीति तथा नियमावली प्रशासन गरी नागरिकलाई सुचना प्रदान गर्नको लागि बनाइएको सरकारी कार्यालयका वेभसाइटहरु अपडेट गर्न खासै चासो देखाएको पाइदैन । वार्षिक हजारौ खर्च गरेर बनाईएका वेभसाईट खोल्दा पुुरानै विवरण, कर्मचारी अपडेट र पछिल्ला तथ्यांकहरु नै रहने गरेका छन् ।